काठमाडौंको प्रिमियम लोकेशनमा बन्दै छ प्रिमियम अपार्टमेन्ट

काठमाडौंको विशिष्ट र भूकम्प जोखिमका हिसाबले सुरक्षित मानिएको विशालनगर क्षेत्रमा प्रिमियम अपार्टमेन्ट निर्माणका लागि बिहीबार भूमि पूजन सम्पन्न भएको छ ।

नेपाली उद्यममा विवादरहित कारोबारका लागि स्थापित केसी समूह र केयाल समूहको संयुक्त लगानीमा स्थापित डीएलएफले अपार्टमेन्ट निर्माण गर्न लागेको हो । जग्गासहित ३ अर्ब रुपैयाँ लगानीमा केसी र केयाल ग्रुपको संयुक्त लगानीमा प्रिमियम अपार्टमेन्ट बन्ने भएको हाे।

केसी समूहका निर्देशक रोशन केसीका अनुसार एउटै युनिटको २२ करोड रुपैयाँसम्म पर्ने गरी डीएलएफ ग्रिन्स अपार्टमेन्ट निर्माण गर्न लागिएकाे हो । ८ रोपनी क्षेत्रफलमा निर्माण हुने अपार्टमेन्टको २ वटा टावरमा २३–२३ वटा गरी ४६ युनिट रहने उनले जानकारी दिए ।

अपार्टमेन्ट परियोजनाअन्तर्गत कुल जग्गाको २० प्रतिशतलाई हरित क्षेत्र (ग्रीन स्पेस) र ४० प्रतिशतलाई  खुला क्षेत्र (ओपन स्पेस) बनाउने गरी डिजाइन तयार गरिएको छ । हरेक युनिट न्यूनतम ३ हजार वर्गफिटमा बनाइने, डुप्लेक्स पेन्टहाउसको कार्पेट एरिया झण्डै ६ हजार वर्गफिट हुने निर्माण पक्षले जानकारी दिएको छ ।

अपार्टमेन्टमा नयाँ प्रविधि ‘गार्बेज स्युट’ जडान हुनेछ ।  जसले आफ्नो युनिटबाट फोहोर निकालेर हरेक दिन तल लैजान झन्झट नहुने कम्पनीले जनाएको छ । यस्तै, अपार्टमेन्टको पहिलोदेखि छैठौं तलासम्म एकै खालका युनिट हुने, जसमा ३ र ४ बेडरुम सिंगल युनिट अपार्टमेन्ट बन्ने कम्पनीले जनाएको छ । सातौंदेखिको युनिट र दशौं तलाको पेन्टहाउस डुप्लेक्स युनिटमा बन्नेछ ।

निर्माण पक्षका अनुसार सिंगापुरको मेनहाइट सिंगापुर (पीटीई) लिमिटेडले अपार्टमेन्टको आर्किटेक्चर, स्ट्रक्चर र एमईपी डिजाइन गरेको हो । अपार्टमेन्ट निर्माणकाक्रममा छरछिमेकमा कुनै व्यवधान नहोस भनेर डीएलएफले करिब २५ करोड रुपैयाँमा वरिपरि रिटेन्सनवाल बनाउन लागेको छ ।

कम्पनीका अनुसार भुँइतला आवासीय नभएर रिक्रिएसनल क्षेत्रको रुपमा हुनेछ, जसमा लबी, कार्यालय, बैठक कक्ष, स्वीमिङ पुल, जीम हल, स्पा, स्टीम र साउना निर्माण हुनेछ ।

अपार्टमेन्ट निर्माणकाक्रममा छरछिमेकमा कुनै व्यवधान नहोस भनेर डीएलएफले करिब २५ करोड रुपैयाँ वरिपरि रिटेन्सनवाल बनाउन लागेको छ ।

डीएलएफका लगानीकर्ता सत्यनारायण केयालका अनुसार वाल निर्माण भएपछिमात्र जग खन्ने काम सुरु हुनेछ । ‘काठमाडौंमा बनेका ठुला संरचना निर्माणका क्रममा देखिएका कठिनाईलाई सम्बोधन गर्दै पूर्ण सुरक्षित र वातावरण अनुकुल निर्माण गर्ने हाम्रो योजना हो,’ भूमि पुजनमा रहेका केयालले पर्दाफाससँग भने ।

यस्तो छ अपार्टमेन्टको विशेषता

– सुरुवाती बुकिङ गर्नेहरुका लागि अपार्टमेन्टको मूल्य प्रतिवर्गफिट २५ हजार रुपैयाँ, पछि २९ हजार रुपैयाँ हुने

– अपार्टमेन्टको न्यूनतम मूल्य ७ करोड रुपैयाँदेखि अधिकतम २२ करोड रुपैयाँसम्म

– अपार्टमेन्ट निर्माण ३ वर्षमा सकेर हस्तान्तरण गरिने

– अपार्टमेन्टमा १० प्रकारका युनिटहरु निर्माण हुने, तीन, चार र पाँच बेडरुमसहित पेन्टहाउसका युनिट रहने

–पेन्टहाउस विभिन्न चार प्रकारका हुने, जसमध्ये दुईवटा डुप्लेक्स र बाँकी दुईवटा सिंगल युनिट रहने

–अपार्टमेन्टमा दुईतलाको बेसमेन्ट पार्किङ निर्माण हुने। अप्पर र लोअर बेसमेन्टमा १०७ वटा चार पांग्रे सवारीसाधन पार्किङ गर्न सकिने,

–हरेक युनिटलाई २ वटा गाडी पार्किङ स्पेस प्रदान गरिने, १५ वटा स्लट गेस्ट पार्किङका लागि छुट्याइने, बेसमेन्टमा मेकानिकल कक्षहरु हुने, चालकहरुका लागि बेसमेन्टमै आराम कक्ष हुने

–अपार्टमेन्टका सबै युनिटमा घरेलु कामदारका लागि छुट्टै व्यवस्थासहितको कोठा निर्माण गरिने,

–अपार्टमेन्टका कुनै पनि युनिट घाम नछेकिने गरी बनाइने, काठमाडौं उपत्यकाको दृश्यसमेत देखिने

–अपार्टमेन्टको भुँइतलामा विभिन्न सेवा सुविधा सहितका संरचना (एम्निटिज) निर्माण हुने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *