व्यवसायी ज्ञानेन्द्र खड्का र गणेश लामाबीचको विवाद, अपहरण कि आन्तरिक लेनदेन ?

गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्का र गणेश लामाबीच अहिले आरोपप्रत्यारोप चलेको छ । व्यवसायी रहेका खड्काले आफूलाई अपहरण गरेको आरोप लामामाथि लगाएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै लामाले आफूलाई ८ घण्टा बन्धक बनाएको र २० करोड फिरौती मागेको आरोप लगाएका हुन् । यता, लामाले भने जग्गाको विषयमा लेनदेन भएको र उल्टै खड्काले आफूलाई धोका दिएको पत्रकार सम्मेलन गरेरै बताएका छन् ।

करोडौं फिरौती मागिएको भन्दै खड्काको उजुरी

अमेरिका बस्ने खड्काले जारी गरेको विज्ञप्तिमा नेपालमा अनलाइन व्यापार ग्यापू मार्केट प्लेस र रिसोर्ट सञ्चालन गर्दै आएका छन् । खड्काका अनुसार उनलाई ललितपुरको ढोलाहिटी आदर्श टोलबाट लामा र सहदेव कक्षपतिलगायतले गत पुस २३ मा अपहरण गरेर ८ घण्टासम्म बन्धक बनाई करोडौं फिरौती रकम असुल्ने गरी जबरजस्ती कागज गराइएको थियो ।

उनले उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंमा माघ २८ मा जाहेरी दिएको बताएका छन् । उनले ज्यानको सुरक्षाको कारण घटना धेरैपछि मात्रै सार्वजनिक गरेको उल्लेख गरेका छन् ।

‘डकैतहरुलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो । त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दै छु,’ खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जग्गा कारोबारमा जोडिएको लामाको दाबी

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका लामाले खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताए । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिको आरोप राजनीतिक चरित्र हत्या गर्नका लागि कसैको उक्साहटमा परेर भएको हुनसक्ने आशंका व्यक्त गरे ।

खड्काको आरोपको खण्डण गर्दै लामाले उक्त कागज जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए । ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको उनले बताए । त्यसपछि जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ ।

०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनको भनाइ छ । पैसा नतिर्ने नियतले यसो गरिएको हुनसक्ने उनले बताए । नेता लामाले डेढ दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको दाबी गरे । उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए ।

‘अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उहाँको श्रीमतीको नाममा पास छ । त्यही जग्गाको बारेमा उहाँसँग कागज गरिएको हो । कानुन बमोजिम वडामा उहाँ आफैं गएर कागज गर्नु भएको छ,’ उनले पत्रकार सम्मेलनमा भनेका छन् ।

ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ । कारोबारको कुरालाई लिएर आफ्नो चरित्र हत्या गरिएको उनले बताए । तत्कालीन अवस्थामा जग्गा पास गरेर उनी हराएपछि अपराध अनुसन्धान महाशाखामा आफूले निवेदनसमेत दिएको उनको भनाइ छ ।

लामासँग जग्गा किनेको छैन : खड्का

व्यवसायी खड्काले हुँदै नभएको जग्गाको कुरा ल्याएर मुद्दा कमजोर बनाउने भ्रम बाँडेको आरोप लगाएका छन । आफूले लामाको ७ पुस्ता समेतको कुनै पनि जग्गा नकिनेको दाबी गरेका छन् ।

‘हुँदै नभएको कुरा ल्याएर लालपुर्जा देखाएको छ ! ११ वर्षसम्म पैसा नपाएर कुरेर बस्ने मान्छे हो र गणेश लामा ? अनि नेपालमा गणेश लामाको पैसा खान सक्ने हिम्मत चै कसको होला ? पैसा लिनु थियो भने मेरो घर मेरो अफिस माग्न किन आएन र मलाई दिनदहाडै अपहरण गरेर सानेपास्थित लन्डन हाउसमा ८ घन्टा भन्दा धेरै बन्धक राखेर धम्की दिई करकापमा कागज गराए त ?’ उनले भने ।

‘मेरो अनुपस्थिततिमा मेरो मन्जुरीबिना क.म.पा वडा १० को अध्यक्षसँग मिलेर एकल प्रमाणित गरेको छ भन्ने पनि सुन्नमा आएको छ ! यदि करकापमा गरिएको कागज फर्जी रुपमा वडा कार्यालयमा दर्ता गरिएको छ भने त्यसको पनि अनुसन्धान गरी पाऊँ,’ खड्काले लेखेका छन् ।

ललितपुर प्रहरीले अनुसन्धान गर्दै

खड्काले लामाविरुद्ध दिएको उजुरीमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागि फाइल ललितपुर जिल्ला प्रहरी परिसरमा पठाएको छ । ललितपुर प्रहरीले पनि घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । अपहरण तथा शरीर बन्दक मुद्दामा फाइल दर्ता गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले फाइल प्राप्त भएको बताउँदै थप अनुसन्धान जारी रहेको पर्दाफासलाई बताए । ‘फाइल आइपुगेको छ, हामी हेरिरहेका छौं, अहिले नै केही भन्ने अवस्था छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *