नारायणगढ–मुग्लिन सडक आइतवारदेखि २४ सै घण्टा सञ्चालन हुने

नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने कार्य अन्तिम चरणमा पुगेको छ । दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएकोमा भोलि (आइतवार)देखि २४ सै घण्टा सडक आवागमन खुला हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जानकारी दिएको छ ।

पहाड काट्नका लागि तेस्रो पटक थपेको म्याद आज सकिँदैछ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिन र अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो ।

काट्न बाँकी दुई मिटर पहाड सडक नरोकेरै भत्काउन मिल्ने उनको भनाइ छ । पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने उनले जानकारी दिए ।

त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो ।

सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *