प्रसूति गृहबाट शिशु लिएर फरार तीन जना प्रहरी नियन्त्रणमा

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार शिशु चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले गएराति काँडाघारीबाट चोरिएको शिशु (२६ दिनको बालिका) लाई उद्धार गरेको छ ।  शिशु लिएर जाने दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं,काँडाघारी बस्ने २४ वर्षीय मन कुमारी सिंह, निजको श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र निजको दिदी शारदा शाहीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारीस्थित डेराबाट प्रहरीले शुक्रबार राती नै पक्राउ गरेको जनाएको छ ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रे,चौरीदेउराली गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी सबिना श्रेष्ठको शिशु चोरी भएको घटना बाहिरिएको थियो ।

घटना लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले घटनामा संलग्नलाई काँडाघारीबाट पक्राउ गरेको हो ।

विवाह भएको तीन वर्षसम्म बच्चा नभएपछि शिशु चोरी गर्ने योजना अनुसार नै उनीहरूले प्रसूति गृह गएर शिशु चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *