राजदूत अधिकारी र पाकिस्तानको सियालकोट चेम्बर पदाधिकारीबीच भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानस्थित सियालकोट चेम्बर अफ कमर्स तथा उद्योगको भ्रमण तथा चेम्बरका पदाधिकारीसँग भेटवार्ता गरेका छन् । राजदूत अधिकारी र चेम्बरका अध्यक्ष अब्दुल गफूर मलिकलगायत पदाधिकारीबीच भेटवार्ता भएको हो ।

भ्रमणको क्रममा राजदूत अधिकारीले खेलकुद, सर्जिकल तथा किचनसम्बन्धी सामान उत्पादनको दृष्टिले सियालकोट हब बनेकोमा प्रशंसा पनि गरेका थिए । त्यसक्रममा राजदूत अधिकारी पाकिस्तानी व्यवसायीहरुलाई मार्चमा हुन लागेको नेपाल चेम्बर इक्स्पो र अप्रिलमा नेपाले सरकारले गर्न लागेको लगानी सम्मेलनमा निम्तो पनि दिएका थिए ।

पाकिस्तानी व्यवसायीलाई नेपालमा लगानीका लागि सहयोग गर्न नेपाल सरकार तयार रहेको र यसले दुई देशबीच व्यापारिक, लगानी र प्राविधिक सहयोग बढ्ने राजदूत अधिकारीले सो अवसरमा धारणा राखेको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ ।

साथै राजदूत अधिकारीले दशकदेखि रोकिएको पाकिस्तानमा नेपाली चिया निर्यात हालै सुरु भएको, नेपाली शेर्पाले पाकिस्तानमा हिमाल आरोहणका लागि विदेशी पर्यटक ल्याउने गरेको जस्तो प्रसंग उल्लेख गर्दै दुई देशबीचको लगानी, पर्यटन, व्यापारलगायत आर्थिक क्षेत्रमा अझ सम्बन्ध बढाउन आवश्यक भएकोमा जोड दिएका थिए ।

अध्यक्ष अब्दुलले राजदूत अधिकारीको स्वागत गर्दै नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्ध रहेको बताए । दुई देशबीचको सम्बन्ध स्थापनाको ६४ वर्ष यसै वर्ष पूरा हुने जनाउँदै उनले दुवै देशले आर्थिक सम्बन्ध प्रगाढ बनाउन जोड दिनुपर्ने धारणा राखे ।

सियालकोट ७ लाख पाकिस्तानीको बसोबास रहेको सहर हो, जो खेलकुद, सर्जिकल र किचेनका सामान उत्पादनमा प्रख्यात छ । पाकिस्तानको कुल निर्यातको १० प्रतिशत यो सहरले ओगट्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *