न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्न परिषद्को सिफारिस

न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

परिषदको आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेकाे बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । यस्तै अनुसन्धानमा रहेका जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् ।

निरौलामाथि पदीय हैसियतको दुरुपयोग गरेको तथा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने काम गरेको आरोपमा उजुरी उपर छानबिन भइरहेको थियो । यस्तै निरौलामाथि काठमाडौँ जिल्ला अदालतमा रहँदा अपहरण तथा फिरौती लिने कार्यमा संलग्न नेपाली नागरिकलाई भारतीय नागरिक भनी सफाइ दिएको अरोप उपर छानबिन भइरहेको थियो ।

न्याय परिषद्का अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको संयोजकत्वमा न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहने गरी गठन गरेको छानबिन समितिले उनीहरुको आरोप पुष्टि हुने प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *