नेपालबाट तस्करी भएको ४५ लाखको चिनियाँ भेप दिल्लीमा बरामद

भारतको नोएडास्थित कोतवाली सेक्टर–३९ प्रहरीले चीनबाट नेपाल हुँदै तस्करी भएको ई–सिगरेट (भेप) बरामद गरेको छ । भारतीय प्रहरीले शनिबार सेक्टर ४१–४२ कटानबाट तस्कर गिरोहका दुई जनालाई पक्राउ गरेको हो । भारतमा भेप प्रतिबन्धित छ ।

पक्राउ परेकाहरु खातिमा (उत्तराखण्ड) निवासी अहमद रफी र तस्लीम रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट भारु ४५ लाखभन्दा बढीको ई–चुरोट र तीन किलोभन्दा बढी गाँजासहित एउटा कार पनि बरामद भएको छ । आरोपितले ई–चुरोट नेपाल हुँदै दिल्ली– एनसीआर ल्याउने गरेको प्रहरीसँगको बयानमा बताएका छन् । त्यसपछि बार, क्लब र युवालाई सप्लाई गर्थे ।

नोएडा जोनका डीसीपी विद्यासागर मिश्राले पक्राउ परेका दुवैले नेपालबाट रिंकु नामका व्यक्तिबाट ई–चुरोटको खेप लिएर सडक मार्ग हुँदै दिल्ली–एनसीआर ल्याएको बताएको जानकारी दिए । ई–चुरोटको खेप नेपालबाट रोहिणी (दिल्ली) जाँदै गरेको अवस्थामा दुवैलाई पक्राउ गरिएको हो । गिरोहका अन्य तस्करहरुको खोजी भइरहेको छ ।

भारतीय प्रहरीले नेपालमा रहेका रिंकुले चीनबाट ई–सिगरेट अर्डर गरेर नेपालमा स्टक गर्ने र त्यहाँबाट भारतमा तस्करी गर्ने गरेको उल्लेख गरेको छ । तस्करहरूबाट बरामद हुने ई–चुरोटको मूल्य चारदेखि आठ हजार भारतीय रुपैयाँसम्म रहेको छ । दुवै तस्करले नेपालबाट एउटा ई–चुरोट साढे दुईदेखि चार हजार भारतीय रुपैयाँमा किन्ने गरेका थिए ।

यसपछि उनीहरूले एनसीआरमा प्रति ई–सिगरेट ६ देखि ८ हजार भारतीय रुपैयाँसम्म बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । ई–सिगरेटहरू बार, क्लबका साथै युवा र नोयडाका विभिन्न विश्वविद्यालयका युवालाई पनि बिक्री गर्ने गरेको पाइएको भारतीय प्रहरीले उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर