राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रकै हुन्छः जनार्दन शर्मा

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रिय सभाको ठूलो दलको हिसावले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन् ।

उनले हालसम्म गठबन्धन दलहरुका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको स्पष्ट पारे । उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष आफूहरुकै हुने बताए ।

‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमती भएको छैन । संस्थागत सहमती भएको छैन । ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शुन्य हुन्छ । त्यो हाम्रै हुन्छ,’ उनले भने ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने बताए । उनले कांग्रेस महासमिति बैठकमा जनयुद्ध लगायतका कतिपय विषयमा प्रश्न गरेका हुनाले त्यसमा आफूहरुको आपत्ति रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर