प्रहरीको कल्याण कोष विरुद्ध किन हुँदैछ आक्रमण, यसो भन्छ मुख्यालय

प्रहरीको कल्याण कोष विरुद्धको विषयमा भ्रम फैलाउन खोजिएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीको प्रचलित कानूनी श्रोतबाट प्राप्त कल्याण कोषमा रहेको रकमको परिचालन तथा लगानीको विषयलाई लिएर नेपाल पूर्वप्रहरी संगठनबाट प्रेषित विज्ञप्ति तथा केही अनलाइनहरुमा सम्प्रेषित समाचारमा प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै संगठनको छविमा नकारात्मक सन्देश प्रवाह हुने गरी बिषय सम्प्रेषण हुनु दुखद भएको बताएको छ ।

स्रोतका अनुसार भूतपू्र्व प्रहरी संगठनमध्ये एक संगठनका अध्यक्षले अनावश्यक रूपमा विभिन्न माग राखेको र त्यो पूरा नभएपछि उनी एकोहोरो रूपमा प्रहरी विरुद्ध प्रचारबाजीमा लागेका छन् । ‘एउटा समूहले आम्दानीको ४० प्रतिशत रकम आफूहरूले खर्च गर्न पाउने माग राखेको थियो, कानून र व्यावहारिक रूपमा दुवै सम्भव नहुने भएपछि त्यो समूह भ्रामक प्रचारवाजीमा लाग्यो,’ प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले पर्दाफासलाई भन्यो ।

पछिल्लो समय कोषको रकम, लगानीको विषयबारे प्रश्न उठाउँदै विभिन्न समाचार सार्वजनिक भएका छन् । तर, कोषको सम्पूर्ण आर्थिक गतिविधि आन्तरिक लेखा परीक्षण तथा महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण गराइएको भन्दै प्रहरी प्रधानकार्यालयले त्यस्ता प्रश्नको खण्डन गरेको हो ।

‘पछिल्लो समय बचत रकमबाट कल्याण कोष निरन्तर रुपमा वृद्धि भइरहेको तथ्य कल्याण कोषको वार्षिक प्रतिवेदन तथ ावित्तिय बिवरणमा समेतबाट स्पष्ट हुन्छ,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी कल्याण कोषको संचालकका लागि गृह मन्त्रालय, पूर्व प्रहरी संगठनका प्रतिनिधि समेत रहने भएकाले एकल निर्णय असम्भव छ । यस्तै स्वतन्त्र लेखापरिक्षकबाट नियमित लेखा परिक्षण हुने भएकाले समेत यसको पारदर्शितामा कुनै शंका नरहेको एकजना अवकाशप्राप्त महानिरीक्षक बताउछन् ।

यस्तै, कोषबाट सेवा सुविधा सहज रुपमा वितरण गर्न काठमाडौं उपत्यका, सबै प्रदेश प्रहरी कार्यालय तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा पूर्व प्रहरी समन्वय डेस्क स्थापना गरी समन्वय अधिकृत तोकिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

साथै,उपत्यका प्रहरी कार्यालय, लुम्बिनी र कर्णाली प्रदेश प्रहरी कार्यालय मार्फत विभिन्न सिपमूलक कार्यक्रमहरु समेत सञ्चालन भइरहेकोमा यस्ता भ्रम फैलाउनु दुःखद भएको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

२०३९ सालमा सुरु भएको कोष २०५२ सालमा दर्ता भई सञ्चालनमा छ । कोषले विभिन्न सामाजिक कल्याणकारी तथा सीपमूलक कार्यक्रम, गम्भीर प्रकृतिका रोगबाट ग्रसित कर्मचारीहरुको औषधोपचार अनुदान, किरियाकर्म खर्च, अमर प्रहरीका छोरीलाई विवाह अनुदान, कल्याण कोष ज्येष्ठ प्रहरी भत्ता, छात्रवृत्ति, आर्थिक सहयोग, राहत सामग्रीवितरण, सीपमूलक तालिमप्रदान, सर्वसुलव र गुणस्तरीय शिक्षाप्रदानको लागि पुलिस स्कूल सञ्चालन आदि कार्यक्रमहरुगर्दै आएको जनाएको छ ।

यस्तै, प्रहरीका बहालवाला, सेवानिवृत्त कर्मचारी एवम् तिनका आश्रित परिवारहरु र अमर सहिद प्रहरी परिवारका सदस्यहरु लक्षित कार्यक्रम स्वास्थ्य, शिक्षा, सहुलियत (नगद÷सामान) कर्जा, आर्थिक अनुदान, खेलकुद लगायतका विविध सामाजिक कल्याणकारी क्षेत्रहरुमा समेत सेवादिँदै आएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

‘प्रहरी कल्याण कोषको बारेमा सार्वजनिक चासो, चिन्ता र सकारात्मक आलोचनाको उच्चमूल्यांकनगर्दै आगामी दिनमा समेत कल्याण कोषको रकम बहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरु तथा आश्रीत परिवारको हकहितमा प्रचलित ऐन, नियम तथा कार्यविधिमा ब्यवस्था भए बमोजिम पारदर्शी ढंगले सञ्चालनगर्न नेपाल प्रहरी कल्याण कोष सदैव सचेत, सजग एवं सम्वेदनशील रहेको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ प्रहरी प्रधान कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ कोषको गतिविधि

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट बहालवाला र सेवानिवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्तप्रहरी कर्मचारी र अमर–सहिदप्रहरी परिवारका सदस्यहरू गरी जम्मा २२ हजार ८३३ जना लाभान्वित भएको कोषले जनाएको छ ।

तीमध्ये शिक्षातर्फ जेहेन्दार छात्रवृत्ति ३० जना, उच्च छात्रवृत्ति १ सय २२ जना, उच्च प्रोत्साहन छात्रवृत्ति २ जना र शौक्षिक कर्जा ६ जना छन् । सामाजिक सुरक्षातर्फ जेष्ठ निवृत्तिभरण २ सय ४० जना, किरिया कर्म खर्च २ सय १३ जना, मृत्यु राहत अनुदान ५० जना र विवाह अनुदान ३ जना छन् । स्वास्थ्यतर्फ औषधि उपचार अनुदान ५८ जना, निर्ब्याजी उपचार सापटी ४ जना र औषधोपचार कर्जाबाट १ जना लाभान्वित भएका छन् ।

यसैगरी सहुलियत ऋणतर्फ सहुलियत नगद ऋण रकम ३ हजार ६ सय ४७ जना र घर निर्माण तथा मर्मत सम्भार कर्जा ५३ जनालाई उपलब्ध गराइएको छ । किस्ताबन्दी सहुलियत ऋणतर्फ नयाँ–पुरानो चारपाङग्रे कार–जिप १५ जना, मोटरसाइकलरस्कुटर ५ सय ८९ जना र घरायसी सामान ८६ जनाले सुविधा लिएका छन् ।

तालिम तथा वृत्ति विकास (प्रदेश स्तरीय कल्याण कोषबाट संचालित) मा सिपमूलक तालिम ६७ जनाले हासिल गरेका छन् । अन्य सेवा सुविधातर्फ प्रहरी आवास सुविधा ३६ जना, प्रहरी अतिथि गृह १ हजार १०१ जना, नेपाल पुलिस हेल्थ क्लब ७ हजार ८० जना, ज्येष्ठ प्रहरी अतिथि गृह २ सय ६० जना र नेपाल पुलिस स्कुल ९ हजार १४७ जनाले प्राप्त गरेका छन् । यस्तै प्रहरी कर्मचारी युएन मिसन जाँदा उपलब्ध हुने सुविधा २३ जनाले प्राप्त गरेका छन् ।

कल्याण कोष सम्बन्धी सम्पूर्ण व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाबाट हुने गर्छ । व्यवस्थापनलाई चुस्त राख्न महाशाखा अन्तर्गत विभिन्न शाखाहरू तथा नेपाल पुलिस क्ल्ब, नेपाल पुलिस हेल्थ क्लब, प्रहरी कल्याण कोष पेट्रोल पम्प, नेपाल प्रहरी स्कुल लगायतका निकाय क्रियाशील छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल भन्छन्, ‘नागरिक सेवामा व्यस्तहुनु पर्ने र अधिकांश समय घर परिवारदेखि टाढा खटिनुपर्ने भएकोले प्रहरी कर्मचारीहरू घर परिवारलाई समय दिन पाउँदैनन् । उनीहरू र आश्रित परिवारलाई आर्थिक अभाव नहोस् र मनोबल उच्चहोस् भन्ने उद्देश्यले प्रहरीले कल्याणकारी कार्यक्रम संचालन गरिएको हो । साथै सेवानिवृत्त प्रहरी कर्मचारी तथा तिनका आश्रित परिवार र अशक्त तथा अमर प्रहरी परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदानगर्न कोषले मद्दत पुर्याएको छ । खेलकुदको विकास लगायत विविध कल्याणकारी क्षेत्रहरूमा लगानीगर्ने, आयमूलक तथा सेवामूलक कल्याणकारी कार्यक्रमहरूको विस्तार गर्ने लक्ष्य रहेको छ ।’

कल्याण कोषबाट प्रहरीले सञ्चालनमा ल्याएको पेट्रोल पम्प, हेल्थ क्लब, व्यापारिक भवन, नेपाल पुलिस स्कुलबाट समेत योगदानहुँदै आएको छ । यी सेवाबाट सर्वसाधारण समेत लाभान्वित हुँदै आएका छन् ।

संयुक्त राष्ट्र संघीय मिसनमा सहभागी प्रहरी कर्मचारीबाट हुने योगदान रकम, बैंकमा मुद्धती निक्षेपमा रहेको कोषको मौज्दात रकमबाट आर्जन हुने व्याज, पेट्रोल पम्पहरूबाट हुने आम्दानी, सपिङ कम्प्लेक्स तथा आवास र अतिथि गृह भाडा वापतको आम्दानी, नेपाल पुलिस हेल्थ क्लवबाट हुने आम्दानी, विभिन्न सहुलियत ऋण तथा घर कर्जा लगानीबाट प्राप्तहुने व्याज र अन्य आम्दानी प्रहरी कल्याण कोषको आम्दानीका स्रोत हुन् ।

संयुक्त राष्ट्र संघीय मिसन एकपछि अर्काे बन्द भएकाेले समेत कल्याण काेषलाई निर्भर बनाउन नयाँ याेजना र लगानीकाे बाटाे पहिल्यान संचालक समितिले मूल काेषभन्दा आम्दानीबाट नयाँ याेजना संचालनकाे पहल गरिरहेकाे छ ।

प्रहरी कल्याण कोष संचालक समितिमा प्रहरी महानिरीक्षक संरक्षक रहने प्रावधान छ । प्रहरी नियमावली, २०७१ को नियम १९४ अन्तर्गत प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० बमोजिम कोष सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

One thought on “प्रहरीको कल्याण कोष विरुद्ध किन हुँदैछ आक्रमण, यसो भन्छ मुख्यालय

  1. काठमाडौँ, धापासी स्थित पुर्व प्रहरी संगठनका वर्तमान अध्यक्ष श्री बसन्तराज कुँवर ( प्र.ब.उ., अ.प्रा.) ज्युले आफु गलत ढंगबाट अध्यक्ष हुनुभए देखिनै नेपाल प्रहरीको कल्याण कोष बाट ४० प्रतिशत पुर्व प्रहरी संगठनमा पठाउनु पर्दछ साथै नेपाल प्रहरीका संगठन प्रमुखहरुले यस कोषको दुरुपयोग गर्दै आइरहेका छन् भन्ने जस्ता विभिन्न तथ्यहीन एवं भ्रामक लान्छनाहरु लगाउदै आइरहनु भएको पाइएको छ | यस कल्याण कोषको बिरुद्धमा सर्वोच्च अदालतमा संयुक्त रुपमा रिट निवेदन दर्ता गरौँ भनि पुर्व प्रहरीको अर्को संस्था यस पुर्व प्रहरी कर्मचारी परिषद नेपाल लाईपनि अनुरोध गर्नु भएको थियो तर उक्त प्रस्ताव उपर हाम्रो सहमति नभएकोले एकलौटी रुपमा पूर्वाग्रही ढंग बाट समय समयमा कल्याण कोषलाई लक्षित गरि विभिन्न टिका टिप्पणी गर्दै आइरहनु भएको पाइएको छ |जबकी कल्याण कोष संचालनको लागि गृह मन्त्रालय,महालेखा परीक्षकको कार्यालय लगायत पुर्व प्रहरी संस्था मध्यबाट पुर्व प्रहरी संगठन र पुर्व प्रहरी कर्मचारी परिषद नेपाल समेतका प्रतिनिधिहरु रहेको समिति रहेको हुन्छ|अतः जहाँ सम्म लाग्छ प्रहरी कल्याण कोषवाट पुर्याउदै आइरहेको सेवा सुबिधाहरू पारदर्शी ढंगबाट संचालन हुदै आइरहेको हुनसक्ने भएकोले यस सम्बन्धमा हामि पुर्व प्रहरी कर्मचारीहरु भ्रमित नभई कुनै शंका उपसंका गर्नु उचित नहोला |हामि अवकास प्राप्त सबै प्रहरी कर्मचारीहरुले आफ्नो मातृ संस्था प्रति सदैव सकारात्मक सोच र बिश्वास गर्नु पर्ने हुन्छ साथै यो मातृ संस्थालाई राजनैतिक प्रभाव बाट मुक्त गर्दै यसको मनोबल र ब्यबसायिक दक्षता बढाउदै नेपाल प्रहरी प्रति जनबिश्वास अभिबृद्धिको लागि कसरि सहयोग गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु हाम्रो कर्तब्य हुनु पर्दछ |
    माथि पर्दाफास अन लाईन मार्फत स्पष्ट गरिएको नेपाल प्रहरीको कल्याण कोषबाट पुर्याउदै आइरहेको शिक्षा,स्वास्थ्य उपचार,ऋण सेवा लगायत विभिन्न सेवामुखी कल्याणकारी कार्यक्रमहरुलाई क्रमशः अझै ब्यबस्थित ढंगबाट संचालन हुदै जानेछ भनि बिश्वास लिन्छौँ |
    अतः पुर्व प्रहरी संगठनका अध्यक्षबाट नेपाल प्रहरीको कल्याण कोषको बिषयलाई लिएर आह्वान गरिएको आन्दोलन प्रति बिमति राख्दै सबै पुर्व प्रहरी कर्मचारीहरुलाई यस कार्यमा साथ सहयोग नदिनुहुन अनुरोध गर्दछौं |जयनेपाल ||
    – रमेश कुमार श्रेष्ठ (पुर्व प्र.अ.म.नि.)
    अध्यक्ष
    पुर्व प्रहरी कर्मचारी परिषद नेपाल
    तथा परिषद कार्य समिति परिवार
    सामाखुशी, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *