पार्टीमा फरक मत राख्दा जिम्मेवारीविहीन बनाइयो: जनार्दन शर्मा

माओवादी केन्द्रले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गरेका छन् ।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको थियो । सो बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको बताए । उनले कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको बताए । उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति रहेको जानकारी दिएका हुन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रुपमा नटुंग्याएकोप्रति पनि आफ्नो असहमति रहेको उनले उल्लेख गरे ।

‘मैले आफ्नो तर्फबाट निर्णयहरुमा केही असहमतिहरु दर्ज गरेको छु । विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतलाई जिम्मेवारीविहिन बनाइएको अवस्थालाई र सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएका लगायतका मुद्दाहरु, त्यहाँको दलसँग सम्बन्धित विवादलाई टुंग्याउने कुरामा सन्तुलित नभएको, न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने ।

उनले आफ्नो असहमतीका बुँदाहरु स्थायी कमिटी सदस्यहरुलाई बाँडिदिएको बताए । आफ्नो असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा असहमति राख्न पाइन्छ भनेर सकारात्मक रुपमा लिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर