समाज कल्याणका सदस्यसचिवले भिसा सकिएका चिनियाँ अधिकारी सँगै लिएर हिँड्नु शंकास्पद : सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समाज कल्याण परिषद्को सदस्यसचिवको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

मंगलबारको प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सदस्यसचिव मनोज भट्टको भुमिकाप्रति प्रश्न उठाएका हुन् । उनले सदस्यसचिवले चाइना फाउण्डेशनको भिसा एक्सपायर भइसकेको कन्ट्रिरिप्रेजेन्टेटिभलाई सँगै लिएर हिँड्नुले थप शंका उब्जिएको बताए ।

उनले देशको कानून मिचेर भिसा एक्सपायर भइसकेको कन्ट्रिरिप्रेजेन्टेटिभलाई अघि लगाएर हिँड्न नमिल्ने बताए । ‘बहसको कुरा पनि सम्झिनुपर्छ । तपाईंले भनेको जस्तो छैन । तपाईंको आफ्नै क्रियाकलापहरु पनि शंकास्पद छ । त्यसको वान अफ द एभिडेन्स चाइना फाउण्डेशनको भिसा एक्सपायर भइसकेको कन्ट्रिरिप्रेजेन्टेटिभलाई तपाईंले सँगै लिएर हिँड्ने । उसले केही डोनेशन दिन्छ । त्यसमा केही कमिसन पाइन्छ भनेर तपाईंले देशको कानून मिचेर कुनै एउटा कन्ट्रिरिप्रेन्टेटिभ जो भिसा एक्सपायर भएर यो देशमा काम गरेर बसेको छ । उसको संगत गर्न मिल्दैन,’ झाले भने ।

सांसद झाले अदालतले निर्णय गरिसकेको टेण्डहरु समाज कल्याणले किन निरन्तरता दिइरहेको भन्दै प्रश्न गरे ।
सांसद झाले चर्चा गरेका चिनियाँ अधिकारी चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ हुन् । जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा कुटिएकी भनिएकी मुख्य निर्देशक सिच्याङ भिसाको म्याद थप नगरी अवैध रुपमा नेपालमा बस्दै आएकी थिइन् ।

जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा कुटिएकी भनिएकी मुख्य निर्देशक सिच्याङलाई भिसाको म्याद थप नगरि नेपाल बसेको पाइएपछि अध्यागमन विभागले उनको भिसा सकिएर पनि नेपालमै रहेको भन्दै मंसिर अन्तिम साता गृह मन्त्रालयलाई पत्र पठाएको थियो । विभागको पत्रानुसार गृह मन्त्रालयले पनि सिच्याङलाई नेपालबाट निष्काशन गर्ने निर्णय गरेको थियो । उनलाई अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तिरेर नेपालबाट निष्काशित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर