सेनाको केन्द्रीय रणनीति बनाउन काठमाडौंमा जुटे पृतनापतिहरु

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक–२०८० बुधबारदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा सहभागीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरुको समीक्षा एवं सुझावहरु प्रस्तुत गर्नेछन् ।

बैठकका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीबारे छलफल गरी त्यस्ता चुनौती सामना गर्ने उपायहरू पहिल्याउन बैठक महत्वपूर्ण हुने बताए । उनले बैठकका निष्कर्षहरुले सेना र रक्षा मन्त्रालयलाई समेत भावी कार्ययोजना तर्जुमा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बाह्य रुपमा नेपालको भूराजनीतिक अवस्थिति, शक्ति राष्ट्रहरुको रणनीति र प्रतिस्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीहरुको विश्व मञ्चमा बढ्दो उपस्थिति श्रम आप्रवासन, खुला सिमाना, प्रविधिको विकास लगायत विषयहरुले सुरक्षा वातावरणमा श्रृजना गर्दै आएका प्रभावहरु एवं आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहहरुको धार्मिक र सामाजिक सद्भाव बिथोल्ने एवं साम्प्रदायिक गतिविधिहरुको सूक्ष्म विश्लेषणसहित समग्र राष्ट्रिय सुरक्षामा देखापरेका चुनौतीहरुको आकलन गर्न जरुरी रहेको मन्त्रीको खड्काको भनाइ थियो ।

उनले सेनालाई सबल र समयानुकुल बनाई राख्न आवश्यक कानूनी प्रावधानहरुको तर्जुमा तथा विद्यमान कानूनी प्रावधानहरुलाई अद्यावधिक गर्ने तर्फ प्राथमिकताका साथ कार्य भईरहेको जानकारी गराए । बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरुका साथै पृतनापतिहरु सहभागी छन् ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले परम्परागत र अपरम्परागत खतराहरुद्वारा सिर्जित सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको बताए । सोही अनुरुप तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयहरुमा छलफल गर्न बैठक फलदायी हुने उनको भनाइ थियो ।

वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको संक्षिप्त विश्लेषण गर्दै प्रधान सेनापतिले नेपालको सिमानाभन्दा धेरै टाढा भइरहेका रुस तथा युक्रेनबीचको युद्ध, इजरायल तथा हमासबीचको युद्धलगायत गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिविम्वित गरेको टिप्पणी गरे ।

उनले राष्ट्रिय सुरक्षाका विविध पक्षमा नविन प्रविधिको प्रयोगले पार्ने असर र मानव सुरक्षाका बहु आयामिक चुनौतीहरु बुझ्न र तदनुरुप क्रियाशीलताका लागि तयार रहनु आवश्यक रहेको बताए । प्रधानसेनापतिले राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षहरुलाई सम्बोधन तथा चुनौतीहरुको समाधान एवं न्यूनीकरण गर्न नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण हुन अपरिहार्य रहेको बताउँदै नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन सरकारको निरन्तर सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी अशोकराज सिग्दे, रथीवृन्द एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरु सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर