मुम्बई बम विस्फोटका अभियुक्त टुण्डालाई अदालतको सफाइ

सन् १९९३ मा भारतको मुम्बईमा भएको बम विस्फोटका अभियुक्त अब्दुल करिम टुण्डालाई अदालतले सफाइ दिएको छ । अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृंखलाबद्ध बम विस्फोटको मुद्दामा बिहीबार आफ्नो फैसला सुनाएको हो ।

यस मुद्दामा अदालतले टुन्डालाई सफाइ दिएको छ भने अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको छ । सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनऊ र सुरतमा रेलमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए ।

अदालतको फैसलापछि अब्दुल करिम टुन्डाका वकिल शफिकतुल्ली सुल्तानीले सञ्चारकर्मीसँग कुरा गर्दै अदालतले टुण्डामाथि दर्ता भएका कुनै पनि मुद्दामा दोषी ठहर नगरेको बताए । ‘ टुन्डा पूर्णतया निर्दोष छन् । माननीय अदालतले आज यस्तो निर्देशन दिएको छ,’ उनले भने ।

सीबीआईले अब्दुल करीम टुन्डा विरुद्ध टाडा ऐन, आईपीसी, रेलवे ऐन, हतियार ऐन, विस्फोटक ऐन सम्बन्धी कुनै प्रमाण पेश गर्न सकेन । उनी भन्छन्, ‘हामीले सुरुदेखि नै अब्दुल करिम टुण्डा निर्दोष भन्दै थियौं, आज फेरि अदालतमा प्रमाणित भएको छ ।’

फेबुअरी २७ मा मात्र टाडा अदालतमा सुनुवाइ सकिएको थियो । श्रृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त अब्दुल करीम टुण्डा अजमेरको उच्च सुरक्षा कारागारमा बन्द छन् । सन् २०१३ मा नेपाल सीमाबाट पक्राउ परेपछि उनलाई गाजियाबाद जेलमा राखिएको थियो, जहाँबाट उनलाई अजमेर जेलमा सारिएको थियो ।

उनलाई कडा सुरक्षामा बिहीबार बिहान अदालतमा ल्याइएको थियो । यस क्रममा उनी ह्वील चेयरमा बसेका देखिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *