अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकार क्रियाशील: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन्

‘घुमौं भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताएका हुन् ।

‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,’ प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन् ।’

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गरे । ‘भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ, यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ’ प्रचण्डले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *