नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपाल फाइनल नजिक

राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।

यो जितसँगै नेपालको ४ अंक भएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । ३ खेल खेलेको नेदरल्यान्ड्सको ४ र उति नै खेल खेलेको नामिबियाको २ अंक छ । आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाबीचको खेलले फाइनल पुग्ने दुई टोली टुंगो लाग्नेछ ।

आज भएको खेलमा जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आशिफ शेखले ८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ४ र कुशल मल्लले २ रन बनाए ।

नेदरल्यान्ड्सका लागि भिभियन किंग्माले ३ र आर्यन दत्तले १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *