जनताको आकांक्षाअनुसार विकास हुन सकेन: वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन् ।

प्रथम शहीद स्मृति वागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यद्यपि, पञ्चायत र राजतन्त्रकालभन्दा गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रताका साथ विकास भएको उनको दाबी छ ।

उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको दाबी गरे । उनले गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रुपले देशको विकास गर्ने संकल्प गरेको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको बताए । उनले सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग आह्वान समेत गरे ।

‘खासगरी आज युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधीनताको बारेमा त्यसैगरी समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गर्नुभएको हामीले सार्वजनिक रुपा सुन्ने गरेका छौं । देशमा भविष्य छ कि छैन, देश बन्छ कि बन्दैन ? हाम्रो देश नेपाल समृद्ध हुन्छ कि हुँदैन ? यही प्रश्न युवाहरुको मनमा छ,’ उनले भने ।

उनले अगाडि भने, ‘म यहाँहरुलाई के भन्छु भने ३० वर्षको पञ्चायत र १५ वर्षको राजतन्त्रात्मक संसदीय व्यवस्था हे¥यौँ । त्यस यताको १५ देखि १६ वर्ष हेर्ने हो भने तुलनात्मक रुपमा आँकडामा हेर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा तीव्र विकास भएको छ । गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रतामा विकास भएको छ । एउटै उदाहरणः पञ्चायत कालमा साढे ७ हजार बाटो बनेको थियो, पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुग्यो । अहिले १ लाख किलोमिटर बाटो पुगेको छ । अरु पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको छ । तर नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास भएको छैन । आज प्रधानमन्त्रीज्युले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको छ । काम गर्ने कोशिस गर्नुभएको छ । तपाईं युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई काम गर्ने संकल्प भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ । सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *