चितवनमा बालिका मृत्यु घटनाको गहन अनुसन्धान गर्न कांग्रेसको माग

चितवनको रत्ननगर–१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कूलको होस्टलमा मृत्यु भएको घटनामा गहन अनुसन्धान गर्न कांग्रेसले माग गरेको छ ।

कांग्रेसले आज विज्ञप्ति जारी गर्दै घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

कक्षा ८ मा अध्ययनरत पोखरेल यही फागुन १२ मा स्कुलले सञ्चालन गरेको होस्टेलमा मृत फेला परेकी थिइन् । उनी झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शालिन पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् ।

गोरखा अजिरकोट गाउँपालिका–५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । गत बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले ‘लास झुन्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने दाबी अस्वाभाविक र अपत्यारिलो देखिएको’ बताएका थिए ।

घटनापछि मृत्युको सम्बन्धमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृतकका बाबु दीपेन्द्रको आरोप छ ।

उक्त घटनामा आफूहरूले शंकाको घेरामा रहेका विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएको उनले बताए ।

साथै, विभिन्न दबाबकाबीच उक्त घटनामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले बताए । चितवन प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर