बालिका मृत्यु प्रकरण

अनुसन्धान प्रभावित पार्ने विषयवस्तु सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध

चितवन प्रहरीले छात्रावासमा १४ वर्षीया बालिकाको मृत्यु घटनामा अनुसन्धान प्रभावित पार्ने विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले आज विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर रुपमा अनुसन्धान भइरहेको जनाएको हो ।

‘फागुन १२ बिहान १०ः३० बजेको समयमा जिल्ला चितवन रत्ननगर–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्यनरत बर्ष १४ की छात्रा सोही बोर्डिङ स्कुलको होस्टेलको अन्य साथीहरु सहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सू क्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरु सम्पन्न गरी हाल सो घटनाको गम्भीर रुपमा थप अनुसन्धान कार्य भइरहेको छ,’ चितवन प्रहरीका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले बालबालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीरताका साथ लिई कानूनअनुसार अनुसन्धान भइरहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सबैलाई विश्वास समेत दिलाउन चाहेको उल्लेख गरेको छ ।

‘साथै प्रस्तुत घटनाको तथ्यपरक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा सम्प्रेषित विषयवस्तु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरु हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगरी दिन हुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल यही फागुन १२ मा स्कुलले सञ्चालन गरेको होस्टेलमा मृत फेला परेकी थिइन् । उनी झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शालिन पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् ।

गोरखा अजिरकोट गाउँपालिका–५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । गत बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले ‘लास झुन्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने दाबी अस्वाभाविक र अपत्यारिलो देखिएको’ बताएका थिए ।

घटनापछि मृत्युको सम्बन्धमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृतकका बाबु दीपेन्द्रको आरोप छ ।

साथै, विभिन्न दबाबकाबीच उक्त घटनामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले बताए । चितवन प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर