महायज्ञ सञ्चालनले धर्म, संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुग्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको बताएका छन् ।

पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा आज सम्बोधन गर्दै उनले बागलुङको समग्र विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

‘सर्वसिद्धिधाम पञ्चकोट र कुँडुलेफेँदीको शालिग्राम सङ्ग्रहालय विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘यस्ता महायज्ञ सञ्चालनले देवस्थल तथा तीर्थस्थलका महत्वका विषयमा मानिसमा अध्यात्मिक चेतना अभिवृद्धि भई धर्म, संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुग्छ ।’

धार्मिक तथा सांस्कृतिकस्थलमा हुने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले मुलुकको समग्र विकासमा योगदान पुग्ने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा आध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राखे । उनले संस्कारसहितको व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिए ।

ऋषि, महर्षिको पवित्र भूमि नेपालका बासिन्दा पैसाकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए । धार्मिक ज्ञानका माध्यमबाट सामाजिक रुपान्तरणमा सर्वसिद्धिधाम पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यले पु¥याएको योगदानको उनले प्रशंसा गरे ।

प्रधानमन्त्री प्रचण्डले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । सर्वसिद्धिधाम पञ्चकोटसहित मुक्तिनाथ क्षेत्रको समग्र विकासमा उक्त सडकले महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर