कसरी भयो शालिनको मृत्यु ? यस्तो छ पोस्टमार्टम रिपोर्ट

चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत फेला परेकी १४ वर्षीया शालिन पोखरेलको मृत्यु ‘झुण्डिएको कारण’ भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचपछि तयार पारिएको प्रतिवेदनमा झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको जाँचमा संलग्न एक चिकित्सकले बताए । बालिकाका आफन्तले उनको बलात्कार भएको हुनसक्ने आशंका गरे पनि ती चिकित्सकका अनुसार पोस्टमार्टममा भने बलात्कार भएको संकेत देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी श्रीराम भण्डारीले पोस्टमार्टम लिन प्रहरी अधिकारी काठमाडौं गएको पर्दाफासलाई जानकारी दिए । ‘हामीसमक्ष पोस्टमार्टम रिपोर्ट आइसकेको छ, रिपोर्ट आएपछि जानकारी दिनेछौं,’ उनले भने ।

कक्षा ८ मा अध्ययनरत पोखरेल यही फागुन १२ मा स्कुलले सञ्चालन गरेको होस्टेलमा मृत फेला परेकी थिइन् । उनी झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शालिन पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् । गोरखा अजिरकोट गाउँपालिका–५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् ।

आफन्तको जाहेरीपछि प्रहरीले विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै शनिबार स्ट्याटस लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस लगायतले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

नेताहरुको चासो र सामाजिक सञ्जालमा घटनाबारे विभिन्न कोणबाट चर्चा हुन थालेपछि चितवन प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धान भइरहेको र घटनाबारे अनावश्यक विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *