शहबाज शरिफ बने पाकिस्तानको नयाँ प्रधानमन्त्री

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित भएका छन् । शरिफ पाकिस्तानको २४ औं प्रधानमन्त्री बनेका हुन् ।

पाकिस्तानको राष्ट्रिय संसदमा भएको मतदानमा उनले २ सय १ मत प्राप्त गरे । उनको तुलनामा तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवार उमर अयुबले ९२ मत पाए ।

अपेक्षाविपरीत पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय सभामा स्पष्ट बहुमत ल्याउन सकेन । पाकिस्तानमा भर्खरै भएको निर्वाचनमा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू ९० भन्दा बढी सिट जितेर सबैभन्दा ठूलो समूहको रूपमा उभिएका छन् ।

दोस्रो स्थानमा रहेको पाकिस्तान मुस्लिम लिग (नवाज)ले ७५ सिट प्राप्त गरेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी ५४ सिटका साथ तेस्रो स्थानमा रह्यो भने एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको थियो ।

प्रारम्भिक हिचकिचाहटका बाबजुद बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी र पीएमएल–एनले केन्द्रमा सरकार बनाउने निर्णय गरे । पीएमएल–एनका नवाज शरीफ आफू पछि सर्दै भाइ शहबाजलाई प्रधानमन्त्रीमा समर्थन गरेका हुन् ।

पीपीपीले पीएमएल–एनका प्रधानमन्त्री पदका उम्मेदवार शेहबाज सरिफलाई भोट दिने आश्वासन दियो, बदलामा पीपीपीलाई राष्ट्रपति सहित केही संवैधानिक पदहरू दिने आश्वासन दिइएको थियो । यद्यपी पीपीपी शहबाजको मन्त्रिपरिषद्को हिस्सा हुनेछन् वा छैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

अब पाकिस्तानमा मार्च ९ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यसका लागि पीपीपी र पीएमएल–एन सहित ६ दलको गठबन्धनबाट आसिफ अली जर्दारी उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर