जेसुकै परिवर्तन भए पनि हामी मिसन–२०८४ छोड्दैनौंः ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताएका छन् । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गए पनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने उनले बताएका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गरे ।

‘यहाँहरुलाई थाहा छ–आज देशको परिस्थिति आजको दिन चाहीँ अलि छिटोछिटो हिँड्न खोजेजस्तो लागिरहेको छ । त्यसो भएर म आज यहाँ आउन पनि ढिला भयो । म यहाँ आएन किन ढिला भयो भने देशको परिस्थिति छिटोछिटो हिँड्न खोज्यो के । त्यसले गर्दा त्यतापटि अलि अल्झायो, अल्मल्यायो । देशमा परिवर्तन आवश्यक छ, हुनुपर्छ । परिवर्तन हुन्छ । र जेसुकै परिवर्तन भएपनि हामी मिसन २०८४ छोड्दैनौं,’ उनले भने ।

उनले अगाडि भने, ‘दुनियाँमा हाम्रा भन्दा अफ्ठ्यारा अफ्ठ्यारा भौगोलिक, प्राकृतिक, अनेक हिसावले अफ्ठ्यारा ठाउँमा रहेका देश किन अगाडि बढे ? मरुभूमिका देश अगाडि बढे, किन ? हामी किन अगाडि बढ्न सकेनौं ? न्युजिल्यान्ड अहिले पनि उसको प्रमुख स्रोत कृषि नै हो । कृषिबाटै बियर निर्यात गर्ने ठूलो राष्ट्र बन्न भयो । फलफूलको जुस, डेरी प्रडक्ट यस्ता चिजहरु निर्यात गरेर उसले प्रशस्त पैसा कमाएको छ । तर यस्तो उर्बर देश, जहाँ जलस्रोत छ । माटो उर्बर छ । जहाँ धेरै प्रकारका सम्भावनाहरु छन् । विविधता छ क्लाईमेटको । यो विविधताको लाभ लिएर हामी विभिन्न प्रकारका जडिबुटीदेखि लिएर, फलफूलदेखि लिएर, बाली उत्पादनदेखि लिएर, फलफूल, सागपात, अन्नबाली अनेक उत्पादन गर्नसक्छौं । ६० प्रतिशत जनता कृषिमा आधारित छ । ती जनसंख्यालाई अरुतिर सिफ्ट गर्नुपर्नेछ ।’

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गरे । विगतमा पनि मुलुकले धेरै ठूला उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले मजदुरहरुको न्युनतम ज्याला पाउने कुरा समेत कानूनमा व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताए ।
अध्यक्ष ओलीले शहीदहरुका अधुरा सपना पूरा गर्नका लागि आफूहरुले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई अघि बढाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *