सत्ता फेरबदलको असर : अन्तर्राष्ट्रिय प्रचार भइसकेको लुम्बिनी सम्मेलन स्थगित

लुम्बिनी प्रदेशमा यही फागुन अन्त्यतिर ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ आयोजना हुन लागेको थियो । तर, केन्द्रमा बनेको नयाँ सत्ता समीकरणको असरस्वरुप यो सम्मेलन स्थगित भएको छ ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा यो सम्मेलन फागुन २८ र २९ दुई दिन सञ्चालन हुने तय भएको थियो । ९ जना नोबेल पुरस्कार विजेता र अन्य विशिष्ट विदेशी तथा स्वदेशी पाहुना आउने सम्मेलनको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार भइसकेको थियो । तर, केन्द्रमा नयाँ गठबन्धन आएपछि यो सम्मेलन स्थगित गरिएको छ । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश गएको सरोकारवालाको भनाइ छ । साथै, यसले नेपाल सरकारको कूटनीतिक कमजोरीलाई पनि देखाएको उनीहरुको भनाइ छ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सम्मेलन हुन सक्ने अवस्था नरहेको बताएका छन् । उनले यसका लागि औपचारिक निर्णय आजको मन्त्रिपरिषदबाट गरिने जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्न लागेको थियो। सम्मेलनमा सम्मेलनमा नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने तय भएको थियो ।

प्रदेश सरकारले सम्मेलन गर्नका लागि चालु आवको नीति कार्यक्रमबाटै घोषणा गरेर ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै प्रदेशसभाबाट पारित गरेको थियो ।

यसअघि चिनियाँ कूटनीतिक दबाबका कारण यो सम्मेलनको समय एक दिन छोट्याइएको थियो । कार्यक्रम मार्च १० देखि १२ (फागुन २७–२९) सम्म लाई राखिएको थियो । तर, नेपालस्थित चिनियाँ दूतावासको दबाबका कारण कार्यक्रम एकदिन छोट्याइएको थियो ।
चीनका लागि १० मार्च अत्यन्तै संवेदनशील दिन हो । यही दिन तिब्बतीहरूले चीनविरुद्ध विद्रोह थालेका थिए र तिब्बतभर प्रदर्शन भएको थियो । यसलाई चीनबाहिरका तिब्बतीहरूले ‘तिब्बतीयन अपराइजिङ् डे’ का रूपमा मनाउँछन् ।

नोबेल पुरस्कार विजेताहरूको लुम्बिनीमा हुने भेलाले नेपालमा पश्चिमा मुलुकको स्वार्थ हाबी हुन मद्दत पुग्ने र तिब्बतीहरूप्रति सहानुभूति जाने विश्लेषण चिनियाँ पक्षले गरेपछि कार्यक्रम एक दिन छोट्याउनु परेको थियो ।

नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले यो कार्यक्रमको समन्वय गरिरहेका थिए । आयोजकहरूले दिएको जानकारीअनुसार शान्ति सम्मेलनमा विदेशबाट १०० जना अतिथि आउने र नेपालका १०० जना सहभागी हुने जनाइएको थियो ।

आयोजकका अनुसार नोबेल शान्ति पुरस्कार विजेता अब्देसातार बेन मुसा र ओउडेड बोचामाउई (२०१५) भारतका कैलाश सत्यार्थी (२०१४), एरिह वार्शेल (२०१३), नोबेल शान्ति पुरस्कार विजेता लेमाह गोबोवी र तावाक्कोल करमान (२०११), जोडी विलियम्स (१९९७), जोडी विलियम्स (१९९७), होर्टा (१९९६), र रिचर्ड जे रोबर्ट्स (१९९३) नेपाल आउने टुंगो लागेको थियो ।

सम्मेलनमा सहभागी हुनका लागि जोर्डनका राजकुमार अली बिन अल हुसेन, अर्थशास्त्री जेफ्री साक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना कास्टिलो गार्सिया डे भारेला, अन्तर्संसदीय संघका महासचिव मार्टिन चुङगोङ र स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफान लोफभेन पनि आउने जनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर