नक्कली प्रहरी बनेर लुटपाट गर्ने ३ जना पक्राउ

प्रहरीले काठमाडौंको घट्टेकुलोस्थित ३२ क्याफेमा लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको विशेष टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले आफू प्रहरी भएको बताउँदै लुटपाट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खड्का, रामेछापको मन्थली नगरपालिका–९ का २८ वर्षीय मिलन तामाङ भनिने विनोद सुन्दास र ओखलढुंगाको चिशंखुवागढी गाउँपालिका–४ का ३७ वर्षीय प्रेम राई छन् ।

उक्त समूहले फागुन २० मा राति ९ बजेतिर सतिस सिंह कुँवरलाई सामाजिक सञ्जालमार्फत आइफोन लगायतका इलेक्ट्रिक सामान किन्ने भन्दै सामान लिएर ३२ क्याफेमा आउन भनेका थिए ।

सामान लिएर त्यहाँ आएका कुँवरलाई उनीहरुले आईडी कार्ड र रेडियो सेटसमेत देखाई आफू प्रहरीको बताउँदै धम्क्याएको र लुटपाट गरेको परिसरले जनाएको छ ।

उनीहरुको साथबाट नगद २१ हजार, आइफोन ६ थान, एप्पल सिरिज ७ थान, एप्पल वाच २ थान, एन्ड्रोइड फोन १ थान, हेडफोन १ थान, एअरड्रप १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्रसमेत बरामद गरेको परिसरले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *