पशुपतिका दुई हजार सल्लाहकार खारेज

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ। यस्ता अर्चक-उपासक १७८ जना र सल्लाहकार दुई हजारभन्दा बढी रहेको कोषले जनाएको छ। यी सबै पद खारेज गरिएको कोषका सदस्य सचिव राजु खत्रीले बताए। यस वर्ष महाशिवरात्रि पर्व यही फागुन २५ गते मनाइँदै छ।

२०५७ सालमा कोषले एक लाख रुपैयाँ लिएर पशुपतिनाथ मन्दिरको अर्चक र ५१ हजार रुपैयाँ लिएर उपासक बनाएको थियो। कोषले उपलब्ध गराउने पासबाट उनीहरूले लाभ उठाउँदै आएको खत्री बताउँछन्। विशेषगरी पशुपति क्षेत्रमा लाग्ने पर्व र मेलामा अर्चक÷उपासक र सल्लाहकारले पशुपतिनाथको दर्शनका लागि पनि पास पाउँथे।

यसैगरी कोषबाट सल्लाहकार नियुक्त भएका दुई हजारभन्दा बढी व्यापारी घरानाकै भएको कोषले जनाएको छ। व्यापारी घरानाकै जोडबलका कारण कोषले पशुपति मन्दिर क्षेत्रमा हुने विभिन्न मेला र पर्वमा अर्चक, उपासक र सल्लाहकार र तीनका परिवारका लागि विशेष सेवा सुविधा उपलब्ध गराउँदै आएको थियो। यसबाट अनावश्यक भीड हुने गरेको थियो। अनावश्यक भीड हुन नदिन यसपटक अर्चक÷उपासक र सल्लाहकार पद खारेज गर्नुपरेको कोषले जनाएको छ।

कोषले यस पटक महाशिवरात्रिका दिन भक्तजनलाई सकेसम्म छोटो पशुपतिनाथको दर्शन गराउने लक्ष्य राखेको छ। त्यसैअनुसार तयारी भएको कोषले जनाएको छ। ‘यसै कारण हामीले विगतमा कायम रहेका २ हजार सल्लाहकार पद खारेज गरी पास नदिने भएका छौं। अर्चक र उपासक पद र उनीहरूलाई दिइने पास पनि खारेज गरेका छौं,’ सदस्य सचिव खत्रीले भने। याे समाचार आजकाे नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *