प्रधानमन्त्रीका नयाँ सत्ता–सारथि : अधिकांश पुरानै, आलोचित, अटाएनन् दलित

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ११ महिनाअघि बनेको नेपाली कांग्रेससहितका दलको गठबन्धन तोड्दै दाहालले सोमबार बनाएकोे सत्ता समीकरणअनुसार बुधबार १९ जना नयाँ सारथि छानेका हुन्।

दाहालले सोमबार तीनजनालाई बिनाविभागीय मन्त्री बनाएका थिए। मन्त्रिपरिषद् पुनर्गठनसँगै २० सदस्यीय भएको छ। मन्त्रिपरिषदमा प्रधानमन्त्रीको दल माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) सहभागी भएका छन्। १४ महिनामा तेस्रो गठबन्धन गरेका प्रधानमन्त्री दाहालले तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन्।

निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित फेरि सरकारमा सहभागी भएका छन्। सत्ता गठबन्धनको प्रमुख घटक एमाले पनि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको छ। प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमाले नेता रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएको छ। महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपा पनि उपप्रधानमन्त्रीसहित पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी भएको छ। विगतमा पनि लामिछानेले दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

दाहाल नेतृत्वको सरकारमा एमालेबाट महासेठसहित आठजना मन्त्री बनेका छन्। २०७९ पुस १० गतेको सहमतिअनुसार तत्कालीन मन्त्रिपरिषद्मा सहभागी नेतालाई नै एमालेले फेरि सरकारमा पठाएको हो। यसअघि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले ८ मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो। तर ११ महिनापछि एमाले आठवटा मन्त्रालय नै लिएर महासेठको नेतृत्वमा सरकारमा गएको छ।

यसअघि दाहाल नेतृत्वको सरकारमा मन्त्री भएका पौडेल र विमला राई पौडेल अहिले सरकारमा अटेनन्। एमालेबाट राजेन्द्रकुमार राई खानेपानी, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति हरि उप्रेती रक्षा र ज्वालाकुमारी साह कृषि मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रबाट पाँचजना मन्त्री भएका छन्। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

मन्त्रिपरिषद् हेरफेर गर्न कांग्रेस तयार नभएको भन्दै गठबन्धन नै परिवर्तन गर्नुपरेको बताएका प्रधानमन्त्री दाहालले पुरानै तीनजनालाई मन्त्री बनाएका छन्। निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतलाई गठबन्धन टुट्नुको प्रमुख कारकका रूपमा देखाएका दाहालले उक्त मन्त्रालयको जिम्मेवारी पुनलाई दिएका हुन्। कांग्रेससहितको गठबन्धन माओवादीबाट पर्यटनमन्त्री बनेका सुदन किराँती भने पुनर्गठित मन्त्रिपरिषद्मा परेनन्। याे समाचार आजकाे नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *