महाशिवरात्रिको दिन आठ लाखले गरे पशुपतिनाथको दर्शन

महाशिवरात्रिको दिन शुक्रबार सबेरैदेखि रातिसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान दुई बजेदेखि पशुपतिनाथको दर्शन गर्न लाइन लागेका दर्शनार्थीले मन्दिरका चारवटै ढोकाबाट दर्शन गरे ।

चारवटै ढोका खोलिएकाले दर्शनार्थीले लामो समय लाइन बस्नु नपरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवधिमा नेपाल, भारत, मलेसिया, बंगलादेश, भुटान, जर्मनी, बेलायत, अमेरिकालगायत देशका भक्तजनले पशुपतिनाथ दर्शन गरेका छन् । यसमध्ये अधिकांश नेपाली र भारतीय भक्तजन पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेको कोषका सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए ।

‘बिहान दुई बजेदेखि दिनभर तथा अहोरात्र दर्शन गर्ने व्यवस्था गरिएको थियो, यस अवधिमा करिब आठ लाखले मन्दिर दर्शन गरे, शिवरात्रिमा कुनै पनि नकारात्मक गतिविधि भएन,’ उनले भने, ‘शनिबार बिहान ६ बजेसम्म भक्तजनले दर्शन गर्नेछन् ।’ शनिबार बिहान ६ बजे प्रहर पूजा गरेपछि मात्रै शिवरात्रि विशेष दर्शन सकिनेछ ।

कोषले यसपटक फूल र बत्तीको सजावटका लागि एक करोड बजेट विनियोजन गरेको थियो । मन्दिरआसपास र गेटमा सजावट गर्न कोषले ३० लाखको फूल प्रयोग गरेको छ । यस्तै, १० लाख हाराहारीको बत्ती प्रयोग भएको छ । बिहानैदेखि भक्तजनको भिडभाड हुने भएकाले ठाउँ–ठाउँमा चहकिला लाइट जडान गरिएको थियो ।

कोषले शिवरात्रिको मुख्य आकर्षण दर्शन नै भएकाले यसका लागि सहज व्यवस्था मिलाएको दाबी गरेको छ । चारवटा प्लाइट तिलगंगा, गौशाला प्रहरी वृत्तअगाडि, जयबागेश्वरी र एयरपोर्टतर्फका प्वाइन्टबाट भक्तजन लाइनमा बसेका थिए । महाशिवरात्रिका दिन यसपटक पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

शिवरात्रि व्यवस्थित बनाउन कोषका सदस्यसचिवको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति गठन गरिएको थियो । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र सेनाले शान्ति–सुरक्षाको व्यवस्था मिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *