रविभन्दा तल्लो वरियतामा उपेन्द्रले खाए उपप्रधानमन्त्रीको सपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

पटकपटक उपप्रधान तथा मन्त्री बन्न सफल भएका यादव यसपटक वरियतामा तल परेका छन् । उनी हालै राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेभन्दा तल्लो वरियतामा परेका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा जसपाबाट मन्त्री बनेकाहरुलाई राष्ट्रपति पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

जसपा अध्यक्ष यादव गत वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी यसअघि २०७५ मा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सप्तरी १ बाट निर्वाचित नवलकिशोर साह यसअघि मधेस प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर