प्रधानसेनापति शर्मा र चिनियाँ सेनाका मेजर जनरलबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ अधिकारीसहितको टोलीले आज प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।

अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सीएमसी) उपप्रमुख मेजर जनरल चाङ पाओछुन र शर्माबीच जंगीअड्डास्थित प्रधानसेनापतिको कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएका सम्बन्धका विविध पक्ष र आपसी चासोबारे छलफल भएको नेपाली सेनाले जनाएको छ ।

नेपालमा राजनीतिक उथलपुथल भएको र रस्साकस्सी चलिरहेका समयममा चीनको जनमुक्ति सेनाका वरिष्ठ अधिकारी दलबलसहित शनिबार काठमाडौं ओर्लिएका हुन् ।

चाङ नेतृत्वको टोलीमा अन्य वरिष्ठ कर्नेलहरु पेइलिङ सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ सहभागी छन् । टोलीले नेपाली सुरक्षा निकायहरुको क्षमता अभिवृद्धिलगायत विषयमा अधिकारीहरुसँग छलफल गरिने पनि जनाइएको छ ।

टोलीले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ । चारदिने भ्रमणका लागि आएको ६ सदस्यीय उक्त टोली मंगलबार चीन फर्कनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *