एसियाली छनोट खेल्ने तेक्वान्दो टोली आज चीन जाँदै

फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ ।

पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् । छनोट मार्च १५ र १६ तारिखमा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दैछ ।

पेरिस पारालिम्पिक छनोटअन्तर्गत के-४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन् । बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य-सचिव घिसिङले छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर भएको बताउँदै खेलाडीको तयारी बारे चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर