सत्ता गठबन्धन टिकाउने चुनौती छ: प्रदीप ज्ञवाली

सत्तारुढ प्रमुख घटक एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् ।

नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनै पनि खालको बाह्य शक्तिको दौडधुपबिना नै नयाँ सत्ता समिकरण बनेको दाबी गरेका हुन् ।

उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रुपमा रहेको समेत स्वीकार गरे ।

बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने दृष्टिकोण, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै उनले त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए ।
‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो । पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरु र उहाँहरुभित्र पनि अब नेपाली कांग्रेससँगको सहकार्य सुविधाजनक छैन । र यसले कुनै पनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरु पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो,’ ज्ञवालीले भने ।

उनले अगाडि भने, ‘अब विगतमा भन्दा तपाईहरुले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै बाह्य शक्तिहरुको दौडधूप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो । भन्नुको तात्पर्य चाहिँ यो स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो । अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर