विश्वकप छनोट यात्राको तयारी राम्रो भएको छ : प्रशिक्षक एनेस

नेपाली राष्ट्रिय फुटबल टोलीका भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत बहराइनसँगको खेलका लागि छोटो समयका बाबजुद राम्रो तयारी गरेको विश्वास व्यक्त गरेका छन् ।

छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बराइनसँग आगामी चैत ८ र १३ गते खेल्नेछ । त्यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक एनेसले ६ दिनको छोटो समय प्रशिक्षण गरे पनि तयारी राम्रो भएको बताएका छन् । धेरै नयाँ र युवा खेलाडीसँग काम गर्न आफू उत्साहित रहेको प्रशिक्षक एनेस बताउँछन् । यो छनोट यात्राका लागि प्रशिक्षक एनेसले अनुभवी र प्रभावशाली खेलाडीलाई समावेश गरेका छैनन् । अनभुवी रोहित चन्दसँगै नेपाली टोलीका प्रभावशाली आयुष घलान, एरिक बिष्ट, सुरज्यु ठकुरी, दीप कार्की र सन्तोष खत्री भने बहराइन यात्रामा समावेश छैनन् ।

रोहित पारिवारिक कारणले छनोटमा समावेश हुन पाएनन् भने बाँकी राष्ट्रिय टोलीमा रिपोर्टिङ नगरेका कारण प्रशिक्षक एनेसले बाहिर राखेको बताइएको छ । प्रशिक्षक एनेसले अनुभवी खेलाडीविहीन भएर खेल्न केही चुनौती रहने स्वीकार गरे । उनले विभिन्न कारणले आयुष, दीपलगायत खेलाडी तयारीमा समावेश नभएको उल्लेख गर्दै उनीहरूको विकल्पमा जान आफू बाध्य भएको पनि उल्लेख गरेका छन् । छनोटको दोस्रो चरणको दुवै खेल नेपालले बहराइनमा खेल्दैछ । एक मात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो ।

होम म्याच खेल्न नपाउनु टोलीको लागि चुनौती हुने उनको भनाइ छ । यद्यपि आफू र आफ्नो टोली त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक एनेस बताउँछन् । यसअघि मंगलवार नै एन्फाले फिफा विश्वकप एशिया छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअगाडि मलेसियासँगको मैत्रीपूर्ण खेल तालिका पनि सार्वजनिक गरेको थियो । एन्फाका अनुसार नेपाल र मलेसियाबीचको एक मात्र मैत्रीपूर्ण आगामी शुक्रवार हुनेछ । यो खेलपछि नेपाली टोली बहराइन जाने कार्यक्रम छ ।

मैत्रीपूर्ण खेल र विश्वकप छनोट यात्राका लागि मंगलबार नै २३ सदस्यीय टोली घोषणा भएको हो । प्रशिक्षक एनेसले ६ जना नयाँ अनुहारसहित नेपाली फुटबल टोली घोषणा गरेका हुन् । इटालियन प्रशिक्षक एनेसले रोहन कार्की, विशाल बस्नेत, अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य राई र समीर तामाङलाई पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गरेका हुन् । अधिकांश नयाँ अनुहार टोलीमा भित्रिँदा अनुभवी भरत खवासले पनि पुनरागमन गरेका छन् । प्रारम्भिक छनोटमै नपरेका भरत खवास र सौभाग्यलाई टोलीमा समेटिएको छ ।

छनोटको समूह ‘एच’ मा रहेको नेपालले यस अघिका दुवै खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा युएईसँग ४–० तथा दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो । नेपाली टोलीको गोलकिपर किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभाग्य राई छन् ।

त्यस्तै मिडफिल्डरमा भरत, विशाल बस्नेत, लाकेन लिम्बू, मणीकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई र फरवार्डमा अञ्जन बिष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जिव बिष्ट छन् । मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बिदाइ गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर