प्रचण्ड, नेपाल र ओली क्रमशः १३–१३ महिना प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताका बीचमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिनुसार नेपाल पनि प्रधानमन्त्री हुने भएका हुन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालका बीचमा सातबुँदे सहमतिपत्र सार्वजनिक हुनुभन्दा अघि छलफल भएको थियो ।

सो छलफलमा प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री हुने अलिखित सहमति भएको छ । सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन् । बाँकी अवधिमा तीनै जना नेता प्रधानमन्त्री हुने स्रोतले दाबी गरेको छ ।

‘यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा भएको सहमतिनुसार नै अब एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो,’ ती नेताले भने, ‘अबको ४ वर्षमा आमनिर्वाचन हुन्छ, यसअघिको कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमतिजस्तै प्रचण्ड, नेपाल र ओलीले क्रमशः सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।’ यसअघि प्रचण्ड र ओलीका बीचमा केही लिखित सहमति भएको थिएन । अहिले पनि त्यस्तो लिखित नभई तीन नेताका बीचमा मौखिक सहमति भएको स्रोतको दाबी छ ।

तीन नेताहरू क्रमशः बराबर अवधि अर्थात् १३÷१३ महिना प्रधानमन्त्री हुनेछन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सार्वजनिक भएको सातबुँदे सहमतिका साथै अन्य आन्तरिक सहमतिसमेत शीर्ष नेताका बीचमा भएको हुनसक्ने बताए । प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री समान अवधिका लागि हुने र सरकारको नेतृत्व गर्ने लिखित नभइ मौखिक सहमति भएको दाबी गरिएको छ ।

नेपालले कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमति उल्लेख गर्दै अबको दिनमा नयाँ गठबन्धनले कसरी अगाडि बढ्ने र पावर सेयरिङ हुनेबारेमा जिज्ञासा राखेका थिए । सत्ता र शक्तिको बाँडफाँटमा नेपालको जिज्ञासानुसार प्रचण्ड र ओली पनि त्यस्तै सहमति गर्न सहमत भएका बताइएको छ । नेपाल नयाँ गठबन्धनमा नआउँदा गठबन्धन भत्किनसक्ने भएकाले पावर सेयरिङका विषयमा तीन नेताका बीचमा सहमति जुटेको हो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *