देउवालाई ओलीको प्रस्तावः बसौं, कुरा गरौं न

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई संवादका लागि आग्रह गरेका छन् । देशका समस्याबारे कुरा गर्न खोज्दा कांग्रेसले नमानेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ओलीले पछिल्लो तीन वर्षयता कांग्रेससँग पटकपटक संवाद गर्न खोजे पनि नमानेको बताए । ‘यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन,’ उनले भने, ‘म भन्न चाहन्छु, शेरबहादुरजीलाई । बसौं, कुरा गरौं न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’

ओलीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य शक्तिको हात नरहेको बताए । नयाँ सत्ता समीकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको उनको भनाइ थियो ।

नयाँ सत्ता समीकरण निर्माणको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्न पनि कांग्रेसलाई आग्रह गरे । ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेस । राम्रो जति सबै आफैंले गरेको । अरुलाई एक छेउ जस दिन्छ ? यसपल्ट पनि नेपाली कांग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरु पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि । सरकार परिवर्तन, यताउता । यी साना कामहरु । हाम्रो देश भित्रका कामहरु त हामीले गरेको भने हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर