प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ मत

प्रतिनिधिसभामा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मिलीजुली सरकारले फेरि विश्वासको मत प्राप्त गरेको छ ।

बुधबार प्रधानमन्त्री प्रचण्डले संसदमा पेस गरेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदले मत दिएका हुन् । विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

१ सांसदले भने ‘मत दिन्न’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे ।

प्रधानमन्त्रीलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, नेकपा एसलगायतले विश्वासको मत दिएका छन् । यस्तै, विपक्षमा कांग्रेस, राप्रपा, जनमत, लोसपालगायतले मत दिएका छन् ।

गत फागुन २१ मा प्रचण्डले एमाले, रास्वपा र जसपासँग मिलेर नयाँ सत्ता समीकरणका साथै सरकार पुनर्गठन गरेका थिए । पछि नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी भएको थियो ।

नयाँ गठबन्धन बनेपछि पुरानो गठबन्धनको कांग्रेसले भने सरकारबाट विश्वासको मत फिर्ता लिएको थियो । सरकार पुनर्गठनसँगै र सत्ता साझेदार दलले विश्वासको मत फिर्ता लिएसँगै आफ्नो बहुमत रहेको देखाउन प्रधानमन्त्रीले १ महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थाअनुसार प्रचण्डले बुधबार विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *