खेलाडीको टोलीमा मलेसिया भ्रमणमा जाने एन्फाका १० पदाधिकारीलाई कारबाही गर्न निर्देशन

मलेसियामा हुने मैत्रीपूर्ण खेल तथा बहराइनमा आयोजना हुने फिफा विश्वकप २०२६ छनोट फुटबल प्रतियोगितामा सहभागी हुन अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनावश्यक व्यक्तिहरु फुटबल टोलीसँग गएको भन्दै उनीहरुलाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै उनीहरुलाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो । नेपाली फुटबल टोली आज मलेसिया प्रस्थान गरेको हो, जसमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर सहभागी छन् ।

एन्फाका उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख छन् भने एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), सिइओ इन्द्रमान तुलाधर (अफिसियल), जिल्ला सदस्यहरू भरत घिमिरे (अफिसियल), बुद्धिबहादुर गुरुङ (अफिसियल), सुनील लोप्चन (अफिसियल), जयकृष्ण श्रेष्ठ (अफिसियल), प्रवीण श्रेष्ठ (अफिसियल), सुविनकुमार श्रेष्ठ (अफिसियल) पनि मलेसिया गएका छन् । यस्तै ज्ञानबहादुर राई किट व्यवस्थापक बनेर टोलीमा सहभागी छन् ।

‘खेलमा संलग्न समूहबाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनी विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सह–सचिव तथा प्रवक्ता शिव प्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृतिपछि मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि पनि गृह मन्त्रालय खेलकुद मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *