विश्वासको मत पाएपछि प्रधानमन्त्रीः जिम्मेवारी अझ बढेको छ

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन् ।

बुधबार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए । उनले काँधमा जिम्मेवारी थपिएको बताए । संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि उनको भनाइ थियो ।

‘आजको संसदमा जीवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजीव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महशुस गरेको छु । मलाई प्रधानमन्त्रीको रुपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीन पटक, तीनवटा अलग अलग अनुभुति र अलग अलग अनुभव पनि भए । पहिलो पटकको अनुभव मैले पुरानै गठबन्धनबाट नै प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको बेलामा नै अन्तिम घडीमा बालकोटमा गएर केपी ओलीजी लगायतको समर्थनमा म प्रधानमन्त्री बनेँ । दोस्रो पटक पुरानै गठबन्धनमा फर्किएपछि झन्डैझन्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भयो । विश्वासको मत यो रुपमा सदनबाट दुईजना छोडेर बाँकी सबैको समर्थन प्राप्त हुनेकुरा पनि नेपालको इतिहासमा एउटा असाधारण र अभुतपूर्व परिघटना थियो,’ उनले भने ।

उनले अगाडि भने, ‘आज फेरि नयाँ राजनीतिक समिकरणसहित विश्वासको मत लिदाँखेरीको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजीव रह्यो । मेरो जिम्मेवारी अझ बढेको छ । राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा पूरा गर्ने, अगाडि बढाउने जिम्मेवारी हो यो । मेरो काँधमा जिम्मेवारी थपिएको छ । म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर