बैंकसँग ऋण लिएर तिर्न नखोज्ने आपराधिक प्रवृत्ति स्वीकार्य हुँदैनः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकले आज काठमाडौंमा आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्मा छलफल चलिरहेको बताउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरु परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने बताए ।

अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायत कारण चौतर्फी रुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे ।

बैंकसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे । धार्मिक, सामाजिक अतिवाद र समाजलाई विखण्डन गर्न खोज्नेलाई सरकारले कारबाही गर्ने अर्थमन्त्रीले दोहो¥याए ।

पछिल्लो समय सबै क्षेत्रमा नकरात्मकता फैलिँदै गएकामा पनि उनले चिन्ता व्यक्त गरे । ‘बैंकहरुलाई नयाँ सुदखोर र साहुजी भन्न थालिएको छ । राजनीतिज्ञहरु भ्रष्टाचार गर्छन्, तस्कर गर्छन् भन्ने धारणा विकास हुँदै गएको छ । सबैले आफैले आफैलाई गाली गर्ने र कोहि पनि ठीक छैन भन्ने भाष्य निर्माण गर्ने परिपाटी राम्रो होइन”, उनले भने ।

उनले अगाडि भने, ‘उच्चभन्दा उच्च तहका मानिसलाई पनि छानबिन गरेर कारबाहीको प्रत्याभूति विद्यमान व्यवस्थाले गरेको छ । कोही पनि कानुनभन्दा माथि छैनन् । कोहीसँग नजिक भएकै कारणले उसलाई अपराधी भनेर आरोप लगाउनु हुँदैन । सबैलाई एकै ठाउँमा राखेर आरोप लगाउन हुँदैन तर प्रश्न उठिसकेपछि जवाफ दिनुपर्छ । म माथि प्रश्न उठेको भए मैले पनि जवाफ दिनुपर्छ ।’

हरेक संस्था र निकाय किन यति धेरै भ्रष्ट्र हुँदै गएका छन् भनेर आम रुपमा उठिरहेका प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको मन्त्री पुनले बताए । अहिले अर्थतन्त्रमा शिथिलता देखिएपनि साह्रै कमजोर अवस्थामा भने नरहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रबाट भइरहेको लगानी उत्पादनशील क्षेत्रमा र मुलुकको अर्थतन्त्रलाई योगदान गर्ने क्षेत्रमा जानुपर्ने गरी वित्तीय र मौद्रिक नीति अबलम्बन गरिएको बताए ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई समस्या पर्नेगरी विभिन्न क्षेत्रबाट भइरहेका आक्रमणलाई निस्तेज पार्न बैंकिङ क्षेत्रले थप इमानदार र जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रका बारेमा विभिन्न खालका चुनौतीको सामना गर्नु परेको बताए । अहिले नेपालको बैंकिङ क्षेत्र निकै राम्रो अवस्थामा रहेको दाबी उनले गरे ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्मेलनबाट वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्ने र विज्ञहरुबाट सुझाव लिने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *