भूतपूर्व सैनिक महत्वपूर्ण सम्पत्ति : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरू सर्वसाधारण नागरिक मात्र नभई राज्यलाई आवश्यक परेको अवस्थामा स्वतःस्फूर्त योगदान दिन सक्ने तालिम प्राप्त जनशक्ति भएको र यस्तो जनशक्ति हिजोका दिनहरूमा जस्तै आज पनि महत्वपूर्ण सम्पत्तिको रूपमा रहेको कुरा बताएका छन् ।

अवकाश प्राप्त सकलदर्जाबीच एकआपसमा अनुभवहरू साट्ने, बहालवाला र अवकाशप्राप्त सैनिकहरू बिच सामीप्यको भावना जागृत गराउने उद्देश्यले आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

उपत्यका पृतनाको जिम्मेवारी क्षेत्रमा रहेका भूतपूर्व सैनिकहरुको सहभागितामा आज सम्मेलनमा गरिएको हो ।

सेनाका सकलदर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाश प्राप्त सैनिक व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने प्रयास भइरहेको जानकारी गराउँदै प्रधान सेनापतिले गराएका थिए ।

उनले हिताधिकारीको सेवा सुविधा विस्तारको लागि नयाँ नयाँ कार्यक्रमहरू समावेश गरेर मात्र नपुग्ने, त्यसका लागि सम्पूर्ण हिताधिकारीहरु जिम्मेवार, जागरूक, लगनशील र उद्यमशील हुनुपर्ने कुरामा जोड दिए ।

अवकाशप्राप्त सकलदर्जाका सैनिकहरुलाई सेवाकालमा आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई परेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली सेनाको प्रतिनिधि पात्रको रुपमा सफल र समृध्द भई आफूलाई स्थापित गर्न उनले अनुरोध गरे ।

समारोहमा ९९ वर्षकी श्रीमती ज्ञान कुमारी उपाध्यायलाई ज्येष्ठ एकल महिला सम्मान एवं ९७ वर्षका प्रमुख सुबेदार बेलबहादुर गुरुङ्ग (अ.प्रा.) लाई ज्येष्ठ भूतपूर्व सैनिक सम्मान प्रदान गरिएको थियो । यस्तै, सय वर्षका अमल्दार खिम बहादुर बोहोरा क्षेत्री (अ.प्रा.) लाई ज्येष्ठ भूतपूर्व शताब्दी पुरुषका रूपमा अभिनन्दन गरिएको थियो ।

सर्वोत्कृष्ट उद्यमी भएका अमल्दार रुद्रबहादुर गुरुङ्ग (अ.प्रा.) र उत्कृष्ट उद्यमी भएका जमदार कृष्ण श्रेष्ठ (अ.प्रा.) की श्रीमती सविता श्रेष्ठलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । सो क्रममा चार वा सो भन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका १६ जना अभिभावकहरूलाई सम्मान गरिनुका साथै, विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरूलाई कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

यस्तै, फरक क्षमता भएका तथा अशक्त २० जना हिताधिकारीहरुलाई व्हिल चेयर तथा २२ जनालाई अन्य उपकरण वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर