नेपालबाट सुरु हुँदैछ संस्कृतको पुनरुत्थान र संरक्षण महाअभियान

पटक-पटक अनेकन प्रहार र षणयन्त्र सहेर लोपप्राय बनाउन खोजिएको संस्कृतको पुनरुत्थान र संरक्षण नेपालबाट सुरु हुने भएको छ । नेपाल र भारतका एकसय हाराहारी संस्कृतका विज्ञसहित विश्वका पर्यवेक्षकहरु यस महाअभियानमा सहभागी हुने भएका हुन् ।

नेपाल र भारत संस्कृतको मूल उद्गम भएकाले यहाँ रहेका संस्कृत सम्बन्धी सबै दस्तावेज, स्थान र सभ्यताको संरक्षणका लागि दुई देशको संयुक्त आयोजनामा नेपाल -भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाडौंमा हुन लागेको हो । आयोजकहरुले मंगलबार पत्रकार सम्मेलन मार्फत यसका विषयमा जानकारी गराएका हुन् ।

सम्मेलनका संयोजक डा प्रेमराज न्यौपानेले प्राचीन संस्कृतका ग्रन्थहरूको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटी विकसित हुँदै आएको सन्दर्भमा विश्वभरीको संस्कृतको नेतृत्व संसाधन एवं जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्दछ भन्ने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको बताए ।

नेपाल-भारत संस्कृत सम्मेलन यस अघि पनि नेपालमा भएका थिए । नेपालमा वि.सं. २०२४ मा पहिलो पटक दाङमा नेपाल भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यसैगरी दोस्रो पटक २०५१ मा, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौंमा भएका थिए । यस वर्ष २०८० सालको चैत्र १४–१६ गते काठमाडौंमा नेपाल-भारत संस्कृत सम्मेलन आयोजना गर्न लागिएको हो ।

नेपाल तथा भारतको भूमि संस्कृत भाषा, साहित्य, ज्ञान-विज्ञान आदि अनेकौं विषयवस्तुहरूको उद्गमस्थल भएको स्वीकृत तथ्य हो । यसका लागि दुबै देशका संस्कृतका विशिष्ट विद्वानहरुले गर्ने आपसी सम्वादबाट संसारको कल्याणका लागि संस्कृत सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने डा न्यौपानेले बताए ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली र इन्डिया फाउन्डेशन, नयाँ दिल्लीको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा भारतका विभिन्न संस्कृत विश्व बिद्यालय उपकुलपतिर सोध केन्द्रका विज्ञहरु सम्मेलनमा सहभागी हुनेछन् । यस्तै नेपालबाट नीति निर्माण तहमा रहेका सरकारी अधिकारी निम्तालु छन् । नेपालमा संस्कृत विश्व बिद्यालय, सोधकर्ता तथा विज्ञहरु सहभागी हुनेछन् । उनीहरुले संस्कृत केन्द्रीत विभिन्न विषयमा कार्यपत्र प्रस्तुतगर्ने डा न्यौपानेले बताए ।

नेपाल र भारतको विकासमा संस्कृतको योगदान र दुबै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको विशिष्ट अध्ययन, संस्कृतको वैश्विक प्रभाव तथा विश्वका विभिन्न भाषाहरूमा संस्कृतका प्रभावका बारेमा छलफल गर्दै त्यसको सान्दर्भिकताका विषयमा चिन्तन र संस्कृतको समकालिक चासोका विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणमा कार्यक्रम केन्द्रीत रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर