रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ ।

बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई दु्रत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए ।

‘शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम रु ५८ करोड ८९ लाख आवश्यक छ, तर चालु वर्षमा १३ करोड ४० लाख मात्रै बजेट प्राप्त भएको छ’ , निर्देशक निरौलाले भने ।

अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा धमाधम शाखा नहर निर्माण भइरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब रु।५८ करोड ८९ लाख मुआब्जा रकम बाँड्नुपर्ने भएको छ ।  ‘सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न सकिएको छैन’ ,निर्देशक निरौलाले भने ।

चालु आर्थिक वर्ष २०८०/२०८१ का लागि सरकारले आयोजनालाई रु ७५ करोड ४८ लाख विनियोजन गरेको छ । यसमध्ये मुआब्जाका लागि रु १३ करोड ४० लाख मात्र छुट्याइएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर सन्देश पौडेलले बताए ।

 ‘आयोजनाको निर्माणाधिन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको तेत्तीस हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिव नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ,सूचना अधिकारी पौडेलले भने,आयोजनाको सुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत भएको छ ।’

बाँकेको राप्ती सोनारी गाउँपालिका –२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । २०६२/०६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९÷९० मा सम्पन्न गर्ने लक्ष्य छ । संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत रु ५२ अर्ब ८९ करोड हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर