कुल जनसंख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय पानीको पहुँच

खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । १ सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्यांकीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसंख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन् ।

पानीको स्रोत बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा खानेपानीका स्रोत बढी प्रदूषित हुने भएकाले जनस्वास्थ्यमा असर पुगेको छ । जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

खानेपानी मन्त्रालयका उप–सचिव मधु तिमल्सेनाले गुणस्तरीय खानेपानीको पहुँच वृद्धि गर्न मन्त्रालय लागिरहेको बताए । ‘एक सय २० वर्षदेखि बिछ्याइएका खानेपानीका पाइपलाइनबाट पानी वितरण गरिने भएकाले पानीको स्रोत नै प्रदूषित हुँदा गुणस्तरीय पानी वितरणमा समस्या देखिएको छ,’ उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाको पानी भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप नै रहेकाले ढुक्क भएर पिउँदा हुन्छ ।’

मन्त्रालयका उप–सचिव तिमल्सेनाले जमिनमुनिको पानीमा आइरन बढी हुने भएकाले परीक्षण गरेर मात्रै पिउनुपर्ने सुझाव दिए । गुणस्तरका हिसाबले नयाँ खानेपानी आयोजनामा भन्दा पुराना आयोजनामा आइरन बढी हुने गरेको उनको भनाइ छ ।

दूषित पानी प्रयोगकै कारण पखाला, बान्ता, आउँ, हैजा, कमलपित्त, टाइफाइडलगायत रोगको सङ्क्रमण देखा पर्नाका साथै हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम बढी हुने चिकित्सक बताउँछन् ।

सरुवा रोगविद् डा. शेरबहादुर पुनले दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै यसबारे सबै सचेत भई पानी शुद्धीकरण गरेर वा उमालेर मात्र पिउनुपर्ने बताए । ‘खासगरी दूषित पानी जहिले पनि समस्याका रुपमा देखिन्छ । दूषित पानीकै कारण पखाला, हैजा तथा ज्वरो आउने समस्या देखा पर्दछ,’ उनले भने, ‘२० वर्षअघि पनि प्रदूषित पानीका कारण मानिसको हैजा लागेर मृत्यु हुने गर्दथ्यो । अहिले पनि दूषित पानीका कारण मानिसले ज्यान गुमाउनु परेको छ ।’

दूषित पानीका कारण दीर्घकालीन रोग लाग्ने भन्दै डा. पुनले समयमा नै सम्बन्धित पक्ष सचेत हुनुपर्ने बताए । स्थानीयस्तरमा दूषित पानीबाट हुने स्वास्थ्य समस्याका बारेमा जनचेतना जगाउने, पानी शुद्धीकरणका बारेमा जानकारी दिनेलगायत कार्यक्रम सरोकारवाला निकायले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने उनले सुझाव दिए ।
भयो ।

जनस्वास्थ्यविद् डा. समीर अधिकारीले स्वास्थ रहन सफा पानी पिउनुपर्ने भन्दै पानीको मुहान सफा राख्नुपर्ने, पानी उमालेर प्रयोग गर्नुपर्ने, फलफूल तथा तरकारी पखाल्दा पनि सफा पानी मात्रै प्रयोग गर्नुपर्ने सुझाव दिए । ‘पानी जीवनका लागि नभई नहुने पदार्थ हो । हामीले पिउने पानी दूषित भयो भने यसले दीर्घरोगका साथै कतिपय अवस्थामा प्राण घातकसमेत हुन्छ,’ उनले भने ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले संविधानले मौलिक हकका रुपमा स्वच्छ खानेपानी सबैको पाउनुपर्ने व्यवस्था गरेको भन्दै उक्त हक प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताए । उनले सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा नै गुणस्तरीय खानेपानीको पहुँचसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *