नेपालमा धार्मिक अनास्था फैलाउन वैदेशिक लगानी ! अमेरिकी सांसदले उठाए प्रश्न

नेपालमा धर्म परिवर्तन, हिन्दू तथा बौद्ध धर्मप्रति अनास्था फैलाउने क्रियाकलाप र इसाई धर्म प्रचारमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायतबाट वर्षेनि ठूलो रकम खर्च हुँदै आएको तथ्य बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

यतिबेला एक अमेरिकी सांसदले पनि नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकाबाट रकम खर्च भएको भन्दै प्रश्न उठाएका छन् । फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद तथा ब्रिआन म्यास्टले जो बाइडेन नेतृत्वको सरकारलाई नेपालमा खर्च भएको रकमबारे प्रश्न गरेका हुन् ।

अमेरिकी सेनाका पूर्व भेट्रानसमेत रहेका ब्रिआनले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको भिडियोमा उनले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर (करिब ६ करोड ६५ लाख) खर्च गरिएकोमा प्रश्न उठाएका छन् ।

बाइडेन प्रशासनले उक्त रकम खर्च गरेको भन्दै ब्रिआनले अमेरिकी सरकारका व्यवस्थापन तथा स्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्मालाई यस्तो गर्नु सही हो भन्दै प्रश्न गरेका थिए । तर, मन्त्री बर्माले भने त्यस्तो रकम खर्च नगरेको जवाफ दिएका छन् । सांसद ब्रिआनले भने बाइडेन प्रशासनले झूठो उत्तर दिएको दाबी गरेका छन् ।


धार्मिक प्रचारमा बढ्दै आईएनजीओ

नेपालमा धार्मिक अनास्था फैलाउन, धर्म परिवर्तन र प्रचारमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु तथा अन्य निकाय सञ्चालनमा छन् । समाज कल्याण परिषद्का अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा २२ क्रिस्चियन धर्मसँग सम्बन्धित आईएनजीओले ३७ कार्यक्रम एवं परियोजनाका लागि ६ अर्ब २० करोड २७ लाख रकम स्वीकृत गराइसकेका छन् ।

ती संस्थाले नेपालका ५० जिल्लामा आफ्नो कार्यक्रम सञ्चालन गर्ने छन् । लुथरन वर्ल्ड रिलिफ, क्याथोलिक रिलिफ सर्भिसेज, एडभेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सी, चाइल्ड फन्ड, डेन चर्च एड, वर्ल्ड भिजन इन्टरनेसनललगायत क्रिस्चियन आईएनजीओ नेपालमा सक्रिय छन् । यद्यपि, यी संस्थाले भने युवा उद्यमशीलता विकास, बालबालिका, किसान, पोषण र पानीका परियोजनामा लगानी गर्ने जनाएका छन् ।

यस्ता संस्थालाई धर्म परिवर्तनसम्बन्धी गतिविधि गरेको आरोप पनि लाग्ने गरेको छ । आईएनजीओ टियर फन्डमाथि धर्म परिवर्तनसम्बन्धी गतिविधि गरेको आरोपसहित समाजकल्याण परिषद्मा आर्थिक वर्ष २०७६/७७ मा उजुरी समेत परेको थियो ।

चालु आर्थिक वर्षमा १६८ परियोजनामा आईएनजीओले २४ अर्ब ३४ करोड ९८ लाख रकम खर्च गर्न स्वीकृति लिइसकेका छन् । यसमा क्रिस्चियन धर्मसँग सम्बन्धित आईएनजीओले खर्च गर्ने रकमको हिस्सा मात्र २५ प्रतिशतभन्दा माथि छ ।

समाज कल्याण परिषदका अनुसार आर्थिक वर्ष २०७५/७५ मा आईएनजीओहरुले नेपालमा २५ अर्ब २७ करोड २५ लाख रुपैयाँको बजेट स्वीकृत गराएका थिए । आव २०७६/७७ मा भने १८ अर्ब ९३ करोड २२ लाख, आव २०७७/७८ मा ५ अर्ब ११ करोड ६ लाख र आव २०७८/७९ मा ३९ अर्ब ८० करोड १९ लाख बजेट स्वीकृत भएको थियो । यस्तै, आव २०७९/८० मा ३० अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बजेट स्वीकृत भएको परिषद्को तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर