चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा उच्चपदस्थ अधिकारीसँग छलफल

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न चीन भ्रमणबारे आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका थिए ।

सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ११ मा चीनको भ्रमणमा जाँदै छन् ।

चीनमा रहँदा उनले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणमा दुई देशबीचका सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिका बारेमा केन्द्रित हुने बताए । ‘अहिलेको मेरो चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुद र पारस्परिक सहयोगात्मक सम्बन्धलाई पनि राम्रो बनाउने छ,’ उनले भने, ‘अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाका बारेमा चिनियाँ पक्षसँग छलफल हुनेछ ।’

छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरे, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारीलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *