होलीका लागि प्रहरीको सुरक्षा व्यवस्था मजबुत : काठमाडौंमा ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी हुने

जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ। आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ।

होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो। शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरे।

उनले प्रहरीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको बताए। जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए।

उनले सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको बताए। उनले होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताए।

उनले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरे।

उनले भने, ‘होली पर्व आम नेपालीहरुको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व पनि भएको हुँदा हामीले विगतदेखि नै यस्ता पर्वहरुमा हामीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौं। राजधानीको सुरक्षा व्यवस्थाको सन्दर्भमा सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढंगले होली पर्व मनाउनको लागि सुरक्षा प्रवन्ध मिलाएका छौं। विगतमा भएका जोखिमहरुको मूल्यांकन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरु भएका थिए, त्यसको आधारमा हामीले हाम्रो सुरक्षा रणनीतिहरु बनाएका छौं। त्यही अनुसारको प्रहरी परिचालन गरेका छौं। मादक पदार्थ सेवा गरी सवारी चलाउनेको संख्या अत्याधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जानसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रुपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा विभिन्न ठाउँहरुमा चोकहरुमा, ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ। जसले सम्भवित घटनाहरुलाई न्यूनीकरण गर्दछ। अहिले भइरहेका कन्ट्रोल रुम भेकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचनालन गर्दछौं र हाम्रा मोबाइल भ्यानहरु अरु रिजर्भहरु सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएका छौं। भीडभाड हुनेकुलाई मध्यनजर गरी ड्रोनबाट पनि निगरानी गर्नेछौं।’

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *