लामिछानेको राजीनामा माग्ने कांग्रेस सोच राजनीतिक पूर्वाग्रहीः प्रदीप ज्ञवाली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन् ।

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने कांग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने पनि बताए ।

उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताउँदै विना प्रमाण त्यसै राजीनामा माग्न नमिल्ने बताए । उनले आफैंले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु केही पनि हुन नसक्ने जिकिर समेत गरे ।

उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको तर्क समेत गरे ।

‘पहिलो कुरा विगतमा हामीले उठाएको विषय र अहिले गृहमन्त्रीजीको राजीनामाको माग गर्दै उठाइएको विषय फरक छ । विगतमा हामीले जसजस मन्त्रीको राजीनामा माग ग¥यौं । त्यसो गर्दा एक जनालाई सरकारले नै बनाएको छानबिन आयोगले बालकुमारी घटनामा दोषी देखाएको थियो । र दोस्रो अर्को एक जना मन्त्रीलाई अख्तियारले बनाएका लागि बोलाइएको थियो । टेरामक्स खरिद कार्यमा भएको अनियमितताको सवालमा बयान दिन बोलाइसकेपछि उहाँले न्यूनतम नैतिकताको पनि कुनै विषय नउठाई त्यसप्रति ध्यान नदिई झण्डा हल्लाएर अख्तियारमा बयान दिन जानुभएको थियो । अहिले गृहमन्त्रीको बारेमा त्यो लेवलको कुनै उजुरी, मुद्दा औपचारिक रुपमा दायर भएको अवस्था छैन । कुनै नियामक निकाले, यस्ता केसहरु हेर्ने नियामक निकायले उहाँलाई बयानका लागि बोलाएको वा ती नियामक निकायमा औपचारिक रुपमा मुद्दा दायर भएको अवस्था पनि छैन,’ ज्ञवालीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *