उपनिर्वाचन : त्रिपक्षीय भिडन्त, यस्ताे छ अंकगणित

प्रमुख दलहरू १५ वैशाखका लागि इलाम २ र बझाङ प्रदेश सभा ‘१’ मा तोकिएको उपनिर्वाचनतिर होमिएका छन् । सत्तागठबन्धनबाट संयुक्त उम्मेदवारी नहुने देखिएपछि इलाम २ मा मूलतः एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुने सम्भावना छ ।

निर्वाचन आयोगले २४ चैतमा उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । यसको पूर्वसन्ध्यामा प्रमुख दलहरू उम्मेदवार छनोट प्रक्रियामा प्रवेश गरेका छन् । उपनिर्वाचनका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको छ भने कांग्रेसमा नाम सिफारिस भए पनि निर्णय हुन बाँकी छ ।

सरकारको नेतृत्व गरेको माओवादी र अर्को सत्तारूढ दल जसपाले उम्मेदवारी दिने–नदिने निर्णय लिएका छैनन् । एकीकृत समाजवादीले सोमबार यसबारे निर्णय लिँदै छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै निर्वाचन लड्ने भएको छ । स्वतन्त्र उम्मेदवारी पनि घोषणा भइसकेका छन् ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयाघातबाट निधन भएपछि र बझाङ प्रदेश सभा ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको हैसियतमा गृहजिल्ला जाँदै गर्दा ५ असारमा गाडी दुर्घटनामा परी निधन भएपछि सिट रिक्त छ ।

एमालेले इलाम २ को संघीय उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले जितका लागि सुहाङ नै उपयुक्त भएको निष्कर्ष निकाल्दै पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङका कान्छा पुत्र हुन् ।

४ मंसिर ०७९ को चुनावमा इलाम २ मा एमालेका नेम्वाङ ३० हजार २० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार नौ सय ६, रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत प्राप्त गरेका थिए । मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले एक हजार तीन सय ६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले एक हजार दुइृ सय ७२, जसपाका यामप्रसाद लिम्बू सात सय २४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६ सय ८४, राप्रपाका गणेशप्रसाद दुलालले पाँच सय १० मत प्राप्त गरेका थिए । आयोगको तथ्यांकअनुसार मंसिर ४ को निर्वाचनमा इलाम २ मा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेकामा ६८ हजार नौ सय ५१ मत खसेको थियो ।

बझाङ प्रदेश ‘१’ मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार एक सय १२ मतसहित निर्वाचित भएका थिए । उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो । यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार तीन सय ३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले चार सय २६, राप्रपाका हरिलाल भट्टराईले चार सय चार मत प्राप्त गरेका थिए । प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन । बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेकोमा ६२ हजार एक सय ७६ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *