ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी, एक साताभित्र पूर्णता दिइने

सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको छ । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ ।

सोमबार सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुलाउने तयारी रहेको बताए । उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए ।

व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने उनले बताए । व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातीको मूल्य फरक बनाउन नपाउने प्रजिअ बस्नेको भनाइ छ । उनले यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने अवस्था रहेको बताए ।

२४ सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने साथै अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने बस्नेतले जानकारी दिए । व्यवसायीहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनि प्रदूषण गर्न नपाउने पनि बताए ।

‘सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीमा छौं । व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पाइँदैन । यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने हुन्छ । सुरक्षाको हिसावमा हामीले पहिलो जिम्मेवारी व्यवसाय सञ्चालकको हुनेछ । आन्तरिक सुरक्षा प्रणाली व्यवसायी आफैँले गर्नुपर्छ । दुवै क्षेत्रमा व्यवसाय व्यवस्थापन समिति बनाउने छौं,’ बस्नेतले भने ।

बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बबताए । उनले उक्त मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।

व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको र एक हप्ताभित्र पूर्णता पाउने विश्वास रहेको नले जानकारी दिए ।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको बताए । ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *