अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : विमानस्थलमा दिइने सेवा तत्काल सुधार्नुस्

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज अध्यागमन विभाग पुगेर कर्मचारीलाई विमानस्थलको सेवामा तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई निर्देशन गरे ।

यस्तै, सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि उनको निर्देशन थियो ।

‘विदेशीका लागि अध्यायमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ । म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु,’ उनले अध्यागमनका अधिकारीलाई भने ।

केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेको उल्लेख गर्दै मन्त्री लामिछानेले खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउन, जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोतसाधन सम्पन्न बनाउन केही चुनौती रहेको तर प्रयास जारी राख्नुपर्ने उनको भनाइ थियो ।

‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्नँ । भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न । दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला,’ मन्त्री लामिछानेले भने ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर