रोकियो वैकल्पिक गठबन्धन बनाउने कांग्रेसको प्रयास

२१ फागुनमा सत्तागठबन्धन फेरबदलसँगै प्रमुख प्रतिपक्षी दल बनेको कांग्रेसले थालेको ‘समावेशी लोकतान्त्रिक शक्ति’ बनाउने प्रयास रोकिएको छ । खास गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत आर्जन गरेपछि तत्कालका लागि वैकल्पिक गठबन्धनको ढोका बन्द भएपछि कांग्रेसले प्रयास रोकेको हो ।

केन्द्रमा सरकारलाई विश्वासको मतबाट रोक्ने मत नहुँदा र प्रदेशमा सरकार बनाउन निर्णायक नहुने भएसँगै लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास रोकेको कांग्रेसमा यसलाई निरन्तरता दिनेबारे अन्योल छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लोकतान्त्रिक गठबन्धन बनाउने विषयमा पछिल्लो समय पार्टीमा कुनै छलफल नभएको बताए । तर, कांग्रेसले प्रदेशमा सरकार बनाउन र जोगाउन विपक्षमा रहेका सबै दलसँग छलफल गरिरहेको उनको भनाइ छ ।

हामी प्रतिपक्षमा रहेका सबै दलहरूसँग छलफल गरिरहेका छौँ । लोकतान्त्रिक गठबन्धन बनाउने विषयमा कांग्रेसले छलफल थालेको थियो । तर, पछिल्लो थप प्रगति भएको छैन । प्रदेशका विषयमा प्रतिपक्षमा रहेका सबै दलहरूसँग हामी निरन्तर संवादमै छौँ ।

‘हामी प्रतिपक्षमा रहेका सबै दलहरूसँग छलफल गरिरहेका छौँ । लोकतान्त्रिक गठबन्धन बनाउने विषयमा कांग्रेसले छलफल थालेको थियो । तर, पछिल्लो थप प्रगति भएको छैन । प्रदेशका विषयमा प्रतिपक्षमा रहेका सबै दलहरूसँग हामी निरन्तर संवादमै छौँ,’ महतले नयाँ पत्रिकासँग भने । सभापति शेरबहादुर देउवाले २३ फागुनमा बुढानीलकण्ठस्थित निवासमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँगको छलफलमा लोकतान्त्रिक गठबन्धनका विषयमा छलफल गरेका थिए । छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र नेता शेखर कोइराला सहभागी थिए ।

नागरिक उन्मुक्तिले ३० फागुनमा आन्तरिक विवादबीच संघीय सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । विश्वासको मतसम्म पुग्दा चारदलीय बनेको गठबन्धन तीन दलमा झरेको थियो । त्यसपछि २८ फागुनमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दिँदा कांग्रेसले रणनीतिक देखाउन लोसपा सांसद शेखरकुमार सिंहलाई समर्थक बनाएको थियो ।

सत्तासमीकरण बदलिएसँगै एक ठाउँमा देखिएका लोकतान्त्रिक शक्तिहरूबीच पछिल्लो समय भने संवादहीनताको अवस्था छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले बुढानीलकण्ठ बैठकपछि थप संवाद अगाडि नबढेको बताए । कांग्रेसले सुरुवातमा गठबन्धन बनाउने पहल गरे पनि पछिल्लो समय पहलकदमी नलिँदा संवादहीनताको अवस्था रहेको उनको भनाइ छ ।

ठाकुर लोसपाले कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्षमा समर्थन गरेको, तर त्यसको पछाडि कुनै सर्त नरहेको बताउँछन् । ‘लोकतान्त्रिक चरित्र भएका शक्तिहरू एकाठाउँमा उभिने विषयमा बुढानीलकण्ठमा छलफल भएको हो । यसमा भएको प्रगतिबारे मलाई कुनै जानकारी छैन । राष्ट्रिय सभा अध्यक्षमा हामीले कांग्रेसको उम्मेदवारलाई समर्थन गरेका हौँ त्यसबापत यो या त्यो भन्ने कुनै दोहोरो सहमति भएको होइन । बुढानीलकण्ठ बैठकपछि कसैले यस विषयमा पहल गरेको छैन,’ ठाकुरले भने ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पछिल्लो समय कांग्रेससँग विपक्षी गठबन्धनका विषयमा कुनै छलफल नभएको बताए । गठबन्धन बलियो नहुँदा बुढानीलकण्ठ बैठकपछि थप छलफल नभएको उनले बताए । राउतका अनुसार बैठकमा केन्द्रदेखि प्रदेशसम्म लोकतान्त्रिक सरकार गठनको प्रयास गर्नेबारे छलफल भएका थियो । याे समाचार आजकाे नयाँ पत्रिकामा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *